मातृभाषा शिक्षामा लगानी बढाउँदै फाल्गुनन्द गाउँपालिका

  राम योङहाङ  957 पटक हेरिएको

घुर्बिसे पंचमी (पाँचथर) : पाँचथरको फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षामा जोड दिएको छ । गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा अनिवार्य मातृभाषा शिक्षाको पठनपाठन गराउने नीति लिएर अघि बढेको छ ।

आर्थिक वर्ष २०७५/७६ देखि स्थानीय लिम्बू र तामाङ मातृभाषाको पठनपाठन सुरु गरेको फाल्गुनन्दले अहिले राई वान्तवा  मातृभाषामा समेत पठनपाठन सुरु गरेको छ ।

गाउँपालिकाबाट प्रत्येक विद्यालयका लागि एक जना सम्बन्धित मातृभाषा शिक्षक अनुदान दिएर पठनपाठन सुरु गरेको हो । आआफ्नो बजेट पुस्तिकामा नै ‘मातृभाषा शिक्षा व्यवस्थापन अनुदान’ कार्यक्रम राखेर गाउँपालिकाले मातृभाषा शिक्षक व्यवस्थापन गरेको हो ।

४० वटा सामुदायिक विद्यालय रहेको फाल्गुनन्दको १६ वटा विद्यालयमा अहिले मातृभाषामा पठनपाठन भइरहेको छ । जसमध्ये १४ विद्यालयमा लिम्बू र दुई विद्यालयमा तामाङ भाषामा पठनपाठन भइरहेको छ ।  त्यसैगरी यही वर्षदेखि ६ विद्यायमा लिम्बू, एक विद्यायमा तामाङ  र एक विद्यायमा राई वान्तावा भाषाको शिक्षक नियक्ति प्रक्रियामा रहेको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिए ।

बाँकी १६ विद्यालयमा समेत आगामी वर्ष नियमित रुपमा मातृभाषा पठनपाठन लागू गर्ने गाउँपालिकाको तीति रहेको अध्यक्ष कुरुम्बाङले बताए । ‘तत्कालिन गाउँपालिका अध्यक्ष स्वर्गीय अमर नेम्बाङले २०७५ सालमा सुरु गर्नुभएको मातृभाषा शिक्षालाई हामीले निरन्तरता दिएका छौं’ गाउँपालिका अध्यक्ष कुरुम्बाङले भने, ‘१६ विद्यालयमा त्यतिबेलादेखि नै पठनपाठन सुरु भएको थियो । ८ विद्यालयमा अहिले शिक्षक नियुक्ति प्रक्रियामा छ । बाँकी १६ विद्यालयमा समेत चाँडै शिक्षक नियुक्ति गरी मातृभाषालाई अनिवार्य बनाउने हाम्रो योजना छ ।’

गाउँपालिकाले मातृभाषाका शिक्षकलाई तहअनुसार दुई प्रकारको सेवासुविधा दिने गरेको छ । माध्यमिक तहका मातृभाषा शिक्षकलाई मासिक १७ हजार र आधारभूत तहका शिक्षकलाई मासिक १४ हजार रुपैयाँ तलब उपलब्ध गराउँदै आएको छ ।

जातीय बाहुल्यताको आधारमा मातृभाषा शिक्षा पठनपाठनको  व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष देवित्राकुमारी आङदेम्बेले जानकारी दिइन् । ‘जुन विद्यालयमा जुन जातिको विद्यार्थीको बाहुल्यता छ सोही जातिको मातृभाषा शिक्षक नियुक्त गरी मातृभाषामा पठनपाठनको व्यवस्था गरिएको छ’ योजना तर्जुमा समितिकी संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष आङदेम्बेले भनिन्, ‘एउटा विद्यालयमा एक मात्र मातृभाषा पढाई हुन्छ । जुन मातृभाषाको शिक्षक नियुक्त गरिएको छ, सोही भाषाको पठनपाठन हुन्छ ।’ जातीय बाहुल्यता रहेको विद्यार्थीको मातृभाषामा नै अल्पसंख्यक विद्यार्थीहरुले पनि पठनपाठन गर्दै आएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले संविधानले व्यवस्था गरेबमोजिम पालिकाले जातिय बाहुल्यताका आधारमा मातृभाषामा कक्षा सञ्चालन सुरु गरेको बताए । ‘गाउँपालिकाले कानुनी रुपमा समेत कार्यविधि नै तयार गरी सम्बन्धित मातृभाषा शिक्षक नियुक्त गरी मातृभाषा शिक्षा लागू गरिएको छ’ तुम्रोकले भने, ‘मातृभाषाको संरक्षण र सम्वर्द्धनमा स्थानीय सरकार सधैं तत्पर रहेको उद्घोष गरेकाले पहिलो चरणमा मातृभाषा शिक्षा कार्यान्वयनमा ल्याएको हो ।’ संस्थागत रुपमा मातृभाषाको विकास र विस्तार गर्ने एवम् विद्यार्थीहरुमार्फत मातृषाभाको पुस्तान्तरणका लागि गाउँपालिकाले मातृभाषा शिक्षामा जोड दिएको तुम्रोकको भनाई छ ।

उसो त मातृभाषा पठनपाठनमा व्यवहारिक रुपमा चुनौती पनि रहेको छ । एकै जाति र भाषाको मात्र विद्यार्थी नभएकाले पठनपाठनमा व्यवहारिक समस्या रहेको फाल्गुनन्द गाउँपालिका शिक्षा शाखा प्रमुख बाबुराम राई बताउँछन् । ‘एकातिर जुन विद्यायमा जुन मातृभाषाको शिक्षक नियुक्त गरिएको छ । सो विद्यालयमा सोही मातृभाषी समुदायको विद्यार्थी शतप्रतिशत नभएका कारण अन्य समुदायका विद्यार्थीलाई समेत सोही मातृभाषा शिक्षा दिनुपर्ने अवस्था छ’  शाखाप्रमुख राईले भने, ‘अर्कोतिर मातृभाषी शिक्षकहरु नयाँ भएकाले मातृभाषामा शिक्षणसिकाई क्रियाकलप प्रयोग गरेर राम्रो ज्ञान दिन दक्ष जनशक्ति व्यवस्थापन गर्न केही कठिनाई भएको छ ।’

फाल्गुनन्द गाउँपालिकामा कक्षा १२ सम्म पठनपाठन हुने माध्यमिक विद्यालय १० वटा, कक्षा १० सम्म पठनपाठन हुने माध्यमिक विद्यालय एउटा, कक्षा ८ सम्म  पठनपाठन हुने आधारभूत विद्यालय ७ वटा, कक्षा ५ सम्म पठनपाठन हुने आभारभूत विद्यालय १९ वटा र कक्षा ३ सम्म पठनपाठन हुने आधारभूत विद्यालय ३ वटा रहेका छन् ।

मातृभाषा शिक्षा विरुद्ध मुद्धाको समेत सामना

फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षा सञ्चालनका लागि विभिन्न समस्या झेल्नुपरेको थियो । मातृभाषा शिक्षाका लागि शिक्षक नियुक्ति प्रक्रियाको वहानामा गाउँपालिका विरुद्ध मुद्धा परेपछि करिब डेढ वर्ष मातृभाषा शिक्षक नियुक्ति र पठनपाठमा अवरुद्ध भएको थियो ।

गाउँपालिकामा मातृभाषा शिक्षक नियुक्ती विरुद्ध हालिएको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएपछि पुन मात्रृभाषा शिक्षाले निरन्तरता पाएको हो । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी फाल्गुनन्द गाउँपालिकाका सचिव फाल्गुनन्द-४ का इन्द्रकुमार नेम्वाङले मातृभाषा शिक्षक नियुक्ती प्रक्रियाविरुद्ध ७ कात्तिक २०७६ मा उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

त्यसपछि उच्च अदालत विराटनगरले मातृभाषा शिक्षाका लागि सुरु गरिएको प्रक्रिया तत्काल अघि नबढाउन गाउँपालिकाको नाममा अन्तरिम आदेश दिएको थियो । अदालतले समेत मातृभाषा शिक्षा सञ्चालनमा रोक लगाउन खोजेको भन्दै आदिवासीजन्य संस्थाका प्रतिनिधि तथा भाषिक अधिकारकर्मीहरुले विरोध गरेका थिए । रिट परेको १० महिनापछि १४ भदौ २०७७ मा उक्त रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएको थियो ।

मातृभाषा शिक्षा कार्यान्यवनमा तत्काल आफू गाउँपालिकाका कार्यवाहक अध्यक्ष रहेकै बेला मुद्धा समेत खेप्नुपरेको स्मरण गर्दै गाउँपालिका उपाध्यक्ष देवित्राकुमारी आङदेम्बेले राम्रो कामका लागि गरेको संघर्षको प्रतिफल समेत राम्रो नै आउने रहेछ भन्ने शिक्षा पाएको बताउँछिन् । ‘हामीले गलत काम गरेको थिएनौं, त्यसैले मुद्धा पनि जित्यौं’ आङदेम्बेले भनिन्, ‘हामीले मात्र जितेनौं, समग्र समग्र मातृभाषीहरुलामई समेत जितायौं ।’

फाल्गुनन्द गाउँपालिकाका तत्कालिन अध्यक्ष अमर नेम्बाङको हृदयघातका कारण निधन भएपछि उपनिर्वाचनबाट वीरबहादुर कुरुम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार