पाँचथर: तिम्बुपोखरी मिडिया एण्ड इभेन्टद्धारा सञ्चालित केन्जो खबर डटकमको आयोजनामा जिल्लाका पत्रकारका लागि शुरू भएको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न भएको छ ।
पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि शनिबारदेखि शुरु भएको दुई दिने तालिम पत्रकार महासंघ पाँचथर शाखाको सभाहलमा आइतबार सम्पन्न गरिएको हो ।
भिडियो रिपोर्टिङ,इडिटिङ,मिक्सिङ र फोटो खिच्ने सीप विकास गर्ने साथै दर्शक र पाठकको अपेक्षा अनुरुपको सामाग्री सम्प्रेषण गर्न सहयोग पुर्याउने उद्देश्यले संचालन गरिएको तालिमलाई नेपाल इन्भेष्टिगेटिभ मल्टिमिडिया जर्नालिष्ट एसोसियसनका प्रधान सम्पादक रजनिश भण्डारी र उज्वल ज्योती शाक्यले सहजीकरण गरेका थिए ।
फिदिम नगरपालिकाको आर्थिक सहयोग र एसोसियसन काठमाण्डौंको प्राविधिक सहयोगमा संचालित तालिममा जिल्ला तथा जिल्ला बाहिरका विभिन्न संचारगृहमा आवद्ध २० जना सञ्चारकर्मीहरुकोे सहभागिता रहेको थियो ।
प्रशिक्षणमा प्रशिक्षार्थीलाई व्यावहारिक र सैद्धान्तिक ज्ञान दिंदै सहभागीले स्थलगत रुपमा सङ्कलन गरिएको समाचार तथा भिडियोलाई इडिटिङ,मिक्सिङ र रिपोर्टिङ गर्न सिकाइएको छ । प्रशिक्षणबाट सिकेर उत्पादन गरिएको सामाग्रीलाई समापनमा प्रस्तुत समेत गरिएको थियो ।
समापनमा सहभागी मध्येबाट राससमा कार्यरत पाँचथरका पत्रकार रविन्द्र काफ्ले र पत्रकार इवारा जवेगुले प्रशिक्षणमा सिकेका ज्ञान साथै उपलब्धि बारे प्रकाश पारेका थिए ।
पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाको समेत उपस्तिथि रहेको समापनमा प्रशिक्षकद्वय रेग्मी र शाक्यलाई अध्यक्ष बाँस्कोटाले मायाको चिनो प्रदान गरेका थिए ।
पेपर मिडियाबाट डिजिटल प्रविधिमा विश्व सामाजिक संजाल तथा संचारगृह प्रवेश गरेको परिप्रेक्ष्यमा यस प्रकारको तालिम अत्यन्तै उपर्युक्त भएको समापन कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिका प्रमुख अाेनाहाङ नेम्बाङ र विशेष अतिथि प्रमुख जिल्ला अधिकारी सुरेश न्याैपाने बताए । प्रशिक्षणबाट ग्रहण गरेको सिपको उपयोग गर्न सुझाव दिदै अतिथिले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका छन् ।
तालिम आयोजक मिडिया हाउसका अध्यक्ष बिष्णु अधिकारीको अध्यक्षता सम्पन्न कार्यक्रमलाई सम्पादक सरला रेग्मीले संचालन गरेकी थिइन् भने सहसम्पादक दिपक बोहोराले स्वागत मन्तव्य राखेका थिए ।