कुलुङ जाति र ‘मीनारी दाचाम् चाक्चाकूर’

  निनाम लोवात्ती
189 Shares

निनाम लोवात्ती

यही पौस १५, १६ र १७ गते कुलुङ जातिको नयाँ वर्ष (यले दोङ–५०८२) ‘चाक्चाकूर पर्व’ सुरु हुँदैछ । गत वर्ष भने सो मितिमा त्यसमाथि ‘मलमास’ अर्थात् अधिकमास परेका कारण पुस १५ गते गुरुङ जातिको ‘ल्होछार पर्व’ पनि परेको थियो । त्यसो हुनाले कुलुङ जातिको नयाँ वर्ष ‘चाक्चाकूर पर्व’ भने ओझेलमा परेको थियो । मलमास परेकै कारण गत वर्ष एकै मितिमा नेपालका धेरै जातजातिहरुको पर्व वा भनौं चाडहरु परेको थियो । जस्तै नेवार समुदायको ‘योः मरी पुन्यी’/‘ज्यापु दिवस’, कुलुङ जातिको नयाँ वर्ष ‘येले दोङ–५०८१’ एवम् ‘मीनारी दाचाम् चाक्चाकूर’, गुरुङ जातिको ‘ल्हो छार, लिम्बु जातिको ‘चासोक तङनाम’, बाहुन–क्षेत्रीको ‘धान्य–पूर्णिमा’, सुनुवार समुदायको ‘फोल ‘श्याँदर/पिदार’, कथित् ‘राई !’ जाति भनिनेहरुको साकेला आदि ।

नढाँटीकन भ्नने हो भने, कुलुङ जाति भनेको पहिलेदेखि नै नेपालका अन्य जातजातिले चिनिरहेको स्वतन्त्र जाति नभएर हालसम्म जबरजस्ती ‘राई !’करणको मारमा परेको जाति पनि हो । किनभने, अभैm पनि कुलुङ जातिलाई नेपालका अन्य जातजातिहरुले अलग्गै र स्वतन्त्र जाति हुन् भन्ने नबुझेर/नमानेर कथित् ‘राई !’ जाति भित्रको एक थर मात्रै हो ! भन्ने अर्थमा बुभ्mने र चिन्ने गरेका छन् । तर, कुलुङ जातिका बारे मान्छेहरुले बुझेको जस्तो ‘राई !’ जाति भित्रको एक थर मात्रै नभएर नेपालका तामाङ, गुरुङ, मगर, थारु, लिम्बु, लाप्चा, धिमाल, थामी आदि जस्तै एक स्वतन्त्र जाति हो । किनभने, कुलुङ जातिभित्रै ३८० वटाभन्दा बढी थर/उपथरहरु रहेका छन् । त्यसैले गर्दा नै कुलुङ–कुलुङबीचमै विवाहवारी चल्ने गर्छ ।

जे होस्, ११ औं राष्ट्रिय जनगणना–२०६८ अनुसार नेपालमा एकसय २५ जातजाति र एकसय २३ भाषाभाषी छन् । ती जातजाति र भाषाभाषीमध्येमा पर्ने एक जाति हो ‘–कुलुङ ।’ जनगणना २०६८ मा उल्लेख भएअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय ३३ रहेको छ भने कुलुङ मातृभाषीको संख्या ३३ हजार १ सय ७० रहेको छ । तथापि कुलुङ जातिको मातृ संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (कूलू गूसखोम)’ का महासचिव इन्द्र होनीत्तीको भनाइअनुसार, कुलुङ जातिको जनसंख्या एकलाख ६० हजारभन्दा बढी रहेको छ । कुलुङ जातिको उत्पत्ती थलो (सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्र) जस्तै छेस्खाम, बुङ, गुदेल, सोत्तो, पावै, संखुवासभा, भोजपुर, इलाम, सुनसरी, मोरङ, झापा, काठमाण्डौ लगायत जिल्लामा बाक्लो वस्ती रहेको छ भने धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, कास्की, ललितपुर, भक्तपुर, उदयपुर, सर्लाही, मुस्ताङ, मनाङ, बागलुङ सुर्खेतलगायत जिल्लामा पातलो वस्ती रहेको छ । यसरी नेपालका २७ भन्दा बढी जिल्लामा कुलुङ जातिको बसोवास रहेको छ भने भारतको दार्जिलिङ, सिक्किम, आसाम, नागाल्याण्ड, मणिपुर, देहरादुन अनि म्यानमार, भुटान, हङकङ, बेलायत, अष्टे्रलिया, क्यानडालगायत देशमा पनि कुलुङ जातिको बसोवास रहेको छ ।

नेपालको वास्तविक चिनारी भनेको नै जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, धार्मिक विविधता, भगौलिक विविधता आदि हो । त्यसैले त पृथ्वीनारायण शाहले समेत नेपाललाई ‘चार जात र छत्तीस वर्णको साझा फूलबारी हो ।’ भनी सकारेका थिए । कुलुङ जातिको ऐतिहासिक भूमि सोलुखुम्बु जिल्लाको छेस्खाम, बुङ, गुदेल, सत्तो (सोताङ), पावैलगायत साविकका गाविसलाई ‘महाकुलुङ’ भनेर चिनिन्छ । नेपालका अन्य जातजातिको जस्तै कुलुङ जातिको पनि आफ्नै प्रकारको विशिष्ट खालको जीवनचक्र, जातीय संरचना, भाषा, धर्म, संस्कार, संस्कृति, परम्परागत कानुन, चाडबाड, रीतिरिवाज, भेषभुषा, गरगहना आदि रहेको छ ।

त्यसैले यहाँ कुलुङ जातिले मनाउने चाड ‘मीनारी दाचाम् चाक्चाकूर’, यसरी कुलुङ जातिले मनाउने विभिन्न चाडबाड, जात्रामात्रा, पर्व र उत्सवहरुको कुरो गर्दा कुलुङ जातिको नयाँ वर्ष अर्थात् ‘नीङ दोङ’ अर्थात् नयाँ वर्षको पहिलो महिना ‘चाक्चाकुर’को अवसरमा मनाइने ‘मीनारी दाचाम्’ पनि एक हो । ‘चाक्चाकुर’ भनेको इस्वी संवत्को पहिलो महिना जनवरी, विक्रम संवत्को पहिलो महिना वैशाख भने जस्तै कुलुङ जातिको जीवनचक्रअनुसार नयाँ वर्ष सुरु हुने पहिलो महिनाको नाम पनि हो । विक्रम संवत्को हरेक वर्षको पुस १५ गतेदेखि कुलुङ जातिको नयाँ वर्ष ‘यले दोङ’ सुरु हुन्छ भने यो वर्षको पुस १५ गतेदेखि ‘यले दोङ–५०८२’ सुरु हँदैछ ।

कुनै जातजातिले आप्mनो चाडपर्व किन र कसरी मनाउन सुरु गर्यो ? त्यसको खास अर्थ र कारणहरु रहेको हुन्छ । त्यस्तै कुलुङ जातिले चाक्चाकूर मनाउनुको पनि खास कारणहरु र अर्थ रहेका छन् । चाक्चाकूरको पूरा नाम र क्रिया–कर्मका नाम समेत जोडेर भन्नु पर्दा ‘मीनारी दाचाम नीङ दोङ फाईम चासूमलो…’ भन्ने गरिन्छ । तर, छोटकरीमा ‘मिनारी–दाचाम् चाक्चाकूर’ मात्रै भन्ने गरिन्छ । तर, पछिल्लो पटक सजिलोका लागि वा नेपाली भाषामा नयाँ वर्ष र अंग्रेजी भाषामा न्यु इयर भने जस्तै हामी कुलुङहरुले पनि बोलीचालीमा ‘चाक्चाकूर’ मात्रै पनि भन्ने कि ? भन्ने पनि छलफल चलेको छ । यस विषयमा खास गरी पछिल्लो पीढीँले सुझाव दिँदै आई रहेका छन् । त्यसो त चाक्चाकूर चाडपर्वको सन्दर्भमा एक लेख लेख्दै नेपाल सरकारको निजामती सेवा (प्राविधिक पदमा) मा सेवारत राजधन मोरोखु कुलुङले ई–मकालु अनलाईनमा एक लेख लेख्दै प्रस्ट्याएका छन् । उनका अनुसार “–‘मीना’को अर्थ ‘मान्छे’ र ‘मीनारी’को अर्थ ‘मान्छेको पाखुरी’ हो भने ‘दाचाम’को अर्थ ‘भण्डार’ वा ‘ढुकुटी’ हो । त्यस्तै ‘नीङ दोङ’को अर्थ ‘नयाँ वर्ष‘ हो भने ‘चासुम’को अर्थ ‘अन्नको सह’ हो ।”

पहिलेपहिले यो चाडपर्व मनाउँदा बाँसको ढुंग्रोमा भात र तिहुन पकाएर बाँसकै चोयाले बुनेको डालोमा राखी बाँसको खपटा वा पातमा पस्केर खाने गरिन्थ्यो । यसरी बाँसको ढुंग्रोमा पकाएको भात र तिहुनलाई कुलुुङ भाषामा ‘पीतीतीम’ भनिन्छ । नयाँ वर्षको पहिलो दिन गोरु काट्ने (महाकुलुङ लगायत कुलुङ समुदायको बाक्लो वस्ती भएका क्षेत्रहरुमा), दोस्रो दिन १६ गते नयाँ अन्न प्रयोग गर्ने र, १७ गते नयाँ अन्न/भित्र्याउने/भण्डारण गर्ने गरिन्छ । यो कार्यलाई नै कुलुङ भाषामा ‘मिनारी–दाचाम्’ भनिन्छ । त्यस्तै कुलुङ जातिमा चाक्चाकूरको अवसरमा मनाइने मिनारी–दाचाम् चाडको अवसरमा पहिलो दिन आ–आफनै घरमा मीठो मसिनो जे छ, त्यही खाएर ‘मीनारी दाचाम चाक्चाकूर’ मनाउने गरिन्छ भने दोस्रो दिन चेलीबेटीहरु माइतीहरुको दीर्घायु, सुख, शान्ति र सफल जीवनयापनको कामना गर्न र आशिष दिन आफ्नो माइतीघर आउने प्रचलन छ । यस कार्यलाई कुलुङहरु ‘तोबूवा दोलम्’ भन्छन् । तेस्रो दिन माइतीपक्ष चेलीबेटीलाई उही रीतले आशिष दिन छोरीचेलीको घर जाने गर्छन् । यस कार्यलाई ‘तोबूवा पिलम्’ भनिन्छ ।

कुलुङ जातिले मान्ने ‘मिनारी–दाचाम्’ चाड अर्थात् ‘चाक्चाकूर’ मनाउने सम्बन्धमा कुलुङ जातिमा रहेको किम्बदन्ती र विश्वासअनुसार ‘कुलुङ जातिका विभिन्न आदिम पूर्खामध्ये खार र दुम्दुलिमको दुई छोरी लोस र खेउ र एक छोरा खोक्चिलीप गरी तीन सन्तान रहेका थिए । उनीहरु सानो छँदै खार र दुम्दुलिमलाई ललदूम (वनमान्छे) खायो । दिदी लोस र बहिनी खेउले सानैमा भाइ खोक्चिलीपलाई एक्लै छाडेर गए । खोक्चिलीपले आपूm ठूलो भएपछि वेइलिम्मासँग विवाह गरे । एक दिन खोक्चिलीपले आफ्नी श्रीमती वेइलिम्मालाई आफ्नो दुई दिदीहरु पनि भएको बताए । त्यसो हो भने दिदीहरुलाई खोजेर ल्याउन त भनेर वेइलिम्माले आग्रह गरेपछि खोक्चिलीपले आप्mी श्रीमतीको आग्रह टार्न नसकेर आफ्ना दिदीहरु खोज्न गए । नभन्दै भाइ र दिदीहरुको भेट पनि भयो । तर, दिदीहरुले भाइ मरीसकेको ठानेका थिए । यसरी अकस्मात भाइसँग भेट भएपछि दिदीहरु आश्चार्यमा पर्नुका साथै भाइलार्ई बेवारिसे बनाएर सानैमा छाडेर गएकोमा पश्चाताप पनि गरे । तापनि भाइको आग्रहलाई टार्न नसकेर भाइको घरमा गए । भाइले गरेको खेतीपातीबाट उब्जेको नयाँ अन्न–बालीबाट पाकेको/बनेको मिठो/मसिनो खाए, पिए, नाचगान गरेर रमाइलो गरीवरी विदावारी भए ।’ हो, त्यही वेलादेखि कुलुङ जातिमा ‘मीनारी दाचाम् चाक्चाकूर’ मनाउन थालियो भन्ने जन विश्वास रहेको छ ।

हाल आएको जातीय चेतनासँगै ‘महाकुलुङ’ बाहेकका कुलुङ जातिको घना वस्ती भएका विभिन्न जिल्लाहरु जस्तै भोजपुर, संखुवासभा, इलाम, सुनसरी, मोरङ, झापा, र पातलो वस्ती रहेको तेह्रथुम, ताप्लेजुङ, धनकुटा, उदयपुर, काठमाण्डौ, भक्तपुर, ललितपुर, कास्की लगायत जिल्लाहरुमा पनि विभिन्न कार्यक्रमसहित ‘चाक्चाकूर’ मनाउने क्रम बढेको छ । हुन त गत वर्षचाहिँ कोरोना (कोभिड–१९) महामारी पैmलिएको कारण कतै पनि सामूहिक रुपमा भेला भएर ‘चाक्चाकूर’ मनाईएन । तर, यस वर्ष फेरि सामूहिक रुपमा ‘महाकुलुङ’ लगायत कुलुङ जातिको बाक्लो वस्ती भएका गाउँ–वस्तीमा ‘मीनारी दाचाम् चाक्चाकूर’ मनाउने  निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार