इलाम : आगामी पुस २३ गते हुने देशै भर हुने जिल्ला अधिवेशनको तयारीका लागि नेकपा एमाले इलाम पनि जुटेको छ । एमालेले सुक्रबार एक पत्रकार सम्मेलन गर्दै सभ्य भव्य ढंगले जिल्ला अधिवेशनको तयारीमा लागेको जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष महेश बस्नेतले इलाममा १३ हजार ३०२ पार्टी सदस्य रहेको र क्षेत्रगत ढंगले प्रतिनिधित्व गराउने गरि एमाले अगाडि बढेको बताए ।
४५ खुल्ला पुरुष बराबर एक प्रतिनिधि, २२ महिला बराबर एक प्रतिनिधि र ११ दलित बराबर एक प्रतिनिधि रहने टुङ्गो लगाएको एमालेले जनाएको छ । यस्तै सल्लाहकार समितिबाट १५ जना, इलाम काठमाडौं सम्पर्क मञ्चबाट तीन, इलाका र भूगोलबाट गरि करिब साढे छ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । प्रतिनिधि हुनबाट छुटेका र प्रतिनिधित्व गराउनै पर्ने पार्टी सदस्यहरु पाँच प्रतिशतलाई वर्तमान जिल्ला कमिटीले मनोनित गर्नेछ ।
जिल्ला अधिवेशनका लागि आगामी १४ गते जिल्लाका ८१ वटै वडामा प्रतिनिधि छनौट गर्ने कार्यक्रम तय गरिएको छ । एमालेको एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उप–सचिव सहितको १०५ सदस्य जिल्ला कमिटी रहने छ ।