जसपा  केन्द्रिय परिषद अध्यक्ष डा.बाबुराम भट्टाईद्वारा यासोकको सभालाई सम्बोधन गरिने

  युद्धबहादुर बोहोरा
994 Shares

(फाइल तस्वीर)

पाँचथर : जनता समाजवादी पार्टी,नेपालका केन्द्रिय परिषद अध्यक्ष डा.बाबुराम भट्टाईले पौष १७ गते यासोकमा पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्ने भएका छन् ।

संगठन सुदृढिकरण तथा जनजागरण अभियान (सुज अभियान) अन्तर्गत जनजागरण तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री भट्टराई सहित केन्द्रिय नेता सहभागी हुने जसपा नेपाल पाँचथरले जानकारी गराएको छ । उक्त सभामा केन्द्रिय कार्यकारीणी सदस्य तथा पूर्वमन्त्री रकम चेम्जोङ,पाँचथरका सुज अभियान संयोजक तथा केन्द्रिय कार्यकारीणी सदस्य रणध्वज कन्दङ्वा,केन्द्रिय सदस्य एवं १ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री जयराम यादव,केन्द्रिय सल्लाहकार एवं वेस्टर्न मिचिगन युनिभर्सिटी अमेरिकाका प्रोफेसर डा.महेन्द्र सुन्दर लावती,केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम,केन्द्रिय सदस्य सिल्पी विशेष क्षेत्रका अध्यक्ष दलमर्दन कामी लगायतका नेताको उपस्थिति हुने जिल्ला सचिव कमलराज चोत्लुङले जानकारी दिए ।

पार्टीको संगठन सुदृढिकरण गर्दै जिल्लामा पार्टी शसक्त बनाउने र आफ्ना एजेण्डाहरु जनता माझ पुर्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना हुन लागेको बताइएको छ ।

सोमबार जिल्ला समन्वय समिति पाँचथरले पार्टीका जिल्ला अध्यक्ष लक्ष्मण लावतीको अध्यक्षता साथै केन्द्रिय सदस्य मचिन्द्र प्रसाद बेघाको उपस्थितिमा बैठक बसी बृहत् आमसभाको तयारीमा जुट्ने निर्णय गरेको छ । पौष १७ गते कुम्मायक गाउँपालिकाको यासोक बजारमा र १८ गते जिल्ला सदरमुकाम फिदिममा हुने लिम्बुवान राष्ट्रिय समितिको समायोजनको लागि जिल्लाका आठ वटै स्थानीय तहबाट कार्यकर्ता सहभागी गराउन जिल्ला समितिले समन्वय र पहल गर्ने भएको छ ।

यसअघि पौष १२ गते फिदिम र १३ गते याङवरक गाउँपालिकामा केन्द्रिय सल्लाहकार डा.लावतीद्वारा  कार्यकर्तालाई प्रक्षिणात्मक कार्यक्रम सम्पन्न गर्ने बैठकमा निर्णय पारित गरिएको छ । साथै निर्वाचन कार्यालयले जारी गरेको फोटो सहितको मतदाता नामावली अध्यावधिक गर्न पनि पार्टीका शुभेच्छुक र पार्टीको जिम्मेवार निकायलाई सुचना पठाइएको जिल्ला अध्यक्ष लावतीले जानकारी दिंदै राष्ट्रिय स्तरका नेताले सम्बोधन गर्ने कार्यक्रममा उत्साहका साथ सहभागी हुन सबैलाईआग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार