नगर विकास पत्रकारिता पुरस्कारद्वारा गौतम पुरस्कृत

  नयाँ बुलन्द
119 Shares

 

पाँचथर: फिदिम नगरपालिकाले पत्रकार लक्ष्मी गौतमलाई फिदिम नगर विकास पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत गरेको छ ।

पत्रकारिताका माध्यमबाट नगरको विकास र सुशासनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले गौतमलाई पुरस्कृत गरेको हो । फिदिम नगरपालिकाको १०औं नगर सभा उद्घाटन कार्यक्रमको अवसर पारेर आइतवार फिदिममा आयोजित कार्यक्रममा रु. १० हजार राशीको पुरस्कारबाट गौतम पुरस्कृत हुनुभएको हो ।

नगर सभा उद्घाटन कार्यक्रमका प्रमुख पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ तथा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले गौतमलाई कदर–पत्र र पुरस्कार रकम प्रदान गर्नुभएको थियो । फिदिम नगरपालिकाले वि.सं. २०७४ सालबाट नगर विकास पत्रकारिता पुरस्कार प्रदान गर्न थालिएको जनाएको छ ।

फिदिम स्थित रेडियो मितेरी सञ्चालक समितिका अध्यक्ष गौतम दुई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरका पूर्वअध्यक्ष समेत रहनुभएका उहाँ हाल कान्तिपुर मिडिया ग्रुपमा आवद्ध रहनुभएको छ ।

सोही अवसरमा १० हजार राशीकै उत्कृष्ट कर्मचारी पुरस्कारबाट फिदिम नगरपालिका–८ की वडा सचिव कल्पना अधिकारी, चोकमागू स्वास्थ्य चौकी फिदिम–५ का अहेब दिनेश मण्डल र नगरपालिकाको स्टोर शाखाका प्रमुख हाङनारायण हाङसरुम्बा पुरस्कृत हुनुभएको छ । यस्तै नगरपालिकाले सरुवा भई जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीलाई एक महिनाको तलब बराबरको पुरस्कार सहित सम्मान गरेको छ ।

यस्तै नगरपालिकाले उत्कृष्ट करदाताहरुलाई समेत सम्मान गरेको छ । सम्मानित हुने करदाताहरुमा संस्थागततर्फ माछापुच्छे बैङ्क लिमिटेड फिदिम शाखा र ब्यक्तिगततर्फ फिदिम–४ का बबिन्द्रविक्रम बुढाथोकी रहनुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार