प्रकृति पुजक किरात समुदायले इलाममा धुमधामसँग उधौली मनाए

  राम योङहाङ
819 Shares

इलाम : प्रकृति पुजक किरात समुदायले आफ्नो मौलिक पर्व उधौली धुमधामसँग मनाएका छन् । प्रत्येक वर्ष मंसिर पूणर्िमाको दिनदेखि मनाइने उधौली यसवर्ष पनि आइतबार किरात समुदायले विभिन्न कार्यक्रम गरी मनाएका हुन् ।

प्रकृति पुजक राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल समुदायले आआफ्नै तरिकाले मनाएका छन् । राईले उधौली साकेला, लिम्बूले चासोक तङनाम (न्वागी पूजा), याक्खाले चासुवा, सुनुवारले फोलष्याँदर र भुजेलले भुजेली पर्वको नामले यो पर्व मनाएका छन् । नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आआफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा समेत गरेका छन् ।

लिम्बू समुदायले किरात याक्थ्ङ चुम्लुङको आयोजनामा इलाम नगरपालिका १० को माईखोला टापुबेंसीमा सामूहिक पूजापाठ, गालीश्राप बहन्ती, साँस्कृतिक कार्यक्रम तथा वनभोज (ताम्भुङचा) को आयोजना गरेको छ । कार्यक्रममा धाननाच (यालाङ), च्याब्रुङ नाच (केलाङ), पक्लुङ (छेलो हान्ने) र लिम्बू परिकार खानपिन गरिएको थियो । किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । यस्तै इलाम नगरपालिका ५ स्थित बरबोटेमा फुटबल प्रतियोगिता र साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । साँझ लिम्बू समुदायको घरघरमा तङसिङ गर्ने कार्यक्रम गरिएको छ ।

यस्तै किरात राई समुदायले किरात राई यायाक्खाको आयोजनामा साकेला नाच, मौलिक पोशाकहरुको प्रदर्शनी र पुजाआजा गरी उधौली मनाएका छन् । सुनुवार, याक्खा र भुजेल समुदायले आआफ्नो देवीदेवताको पुजाआजा, नाँचगान, साँस्कृतिक कार्यक्रमलगायत इष्टमित्र भेटघाट गरी उधौली मनाएका छन् ।

यसैबीच इलामका विभिन्न गाउँपालिका तथा नगरपालिकामा पनि किरात समुदायले विभिन्न कार्यक्रम गरी उधौली मनाएका छन् ।

उधौली पर्व इलामसहित किरात समुदायको वाहुल्यता रहेका पाँचथर, ताप्लेजङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेहथुम, संखुवसभा तथा उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौंमा समेत भव्यताका साथ मनाईएको छ ।

उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्ी लेकतिरबाट बेसीतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ । किरात समुदायमा अन्नबाली लगाउने बेला वैशाख पूणर्िमाको बेला उभौली मनाउने प्रचलन छ । उधौली पर्व विभिन्न कार्यक्रम गरी १५ दिनसम्म मनाइने प्रचलन छ ।

प्रकृति पुजक किरात समुदायले नदी तथा खोलामा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर बसाई सरेको समयलाई उधौली भनेको पाइन्छ । यही उँधो शब्दबाट नै उधौंली पर्वको नामाकरण भएको मानिन्छ ।

यस चाडलाई किरात समुदायले आफ्नो मुख्य चाडको रुपमा मान्दै आएका छन् । उधौली पर्वलाई न्वागी पुजा पनि भनिन्छ । अन्नबाली पाकेको बेला आफ्ना देवीदेवता, पितृलाई अन्न तथा फलफूल चढाएर न्वागी पुजा गर्ने गरिन्छ । विभिन्न जातिले आफ्नो जाति, स्थान र संस्कार अनुसार यो पर्व मनाउने आआफ्नो तरिका फरक छन् ।

यस चाडमा चेली, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर विभिन्न परिकार ख्वाउने प्रचलन छ । यस चाडलाई विशेषत मेलमिलापको चाडको रुपमा पनि मनाउने गरिन्छ । बर्षभरिमा कसैसँग मनमुटाव रहेको खण्डमा साइनोले कान्छो व्यक्ति जेठो साइनोको घरमा कोसेली, उपहार बोकेर जाने र बोलचाल गर्ने चलन रहेको छ । साइनोमा जेठोले आफ्नो घरमा आएकालाई माया र आदर गर्नुपर्दछ यसरी यो चाडले मेलमिलाप, भेटघाटको अवसर पनि प्रदान गर्ने भएकोले सामाजिक सहिष्णुता कायम राख्न महत्वपूणर् भूमिका रहेको पाइन्छ ।

भाषा, संस्कार संस्कृतिले आआफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकोले आजभोलि उधौंली चाडको अवसरमा संसारभर छरिएर रहेका किरातहरू आपसमा शुभकामना साटासाट गर्छन् । एकै इलाकामा रहेकाहरू एकैठाँउ भेला भएर दुःख सुखका कुराहरू आदानप्रदान गर्ने, आपसमा चिनजान गर्ने, आआफ्नो संस्कृति झल्काउने पोषाकहरू लगाएर आआफ्नो जाति विशेषको नाच नाच्ने गर्दछन् ।

लिम्बुहरू च्याब्रुङ बजाउँदै केलाङ, माङलाङ, कुस्रोक्पालगायत थरीथरीका नाच नाच्ने गर्दछन् भने हात समाएर पालाम भन्दै धाननाच पनि नाच्ने गर्दछन् । राईहरूले हातमा झ्याम्टा, ढोल, चमर र सेउली (सिरलिङ्गे) लिएर विभिन्न शैलीका साकेला, साकेन्वा नाच्ने गर्दछन् । त्यस्तै सुनुवारहरू ढोल बजाएर स्यादर नाच्ने गर्दछन्, याख्खाहरू हात समाएर चावाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्ने गर्दछन् । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार