हाङ्गुरे खेलमैदानमा ३० दिने फुटबल प्रशिक्षण शुरु

  युद्धबहादुर बोहोरा
1.3k Shares

पाँचथरः मिक्लाजुङ वडा नम्बर १ र फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ५ को सिमानस्थित हाङ्गुरे खेलमैदानमा ३० दिने फुटबल प्रशिक्षण शुरु भएको छ ।

खेलकुद क्षेत्रलाई विकास गर्ने उदेश्यले  वडा नम्बर ५ मा रहेको फाक्तेप युथ क्लब (पीवासी) र खेलकुद विकास समिति मिक्लाजुङ -१ को संयुक्त आयोजनामा करीब ५० जना १८ वर्ष मुनिका महिला तथा पुरुषलाई ३० दिनसम्म  फुटबल प्रशिक्षण गराइने क्लबका सचिव नवीन चेम्जोङले जानकारी दिए । फुटबल सिक्न इच्छुक १२ वर्ष उमेर भन्दा मुनिका केटाकेटी धेरै रहेका छन् । सहभागीहरु अधिकाँश अध्ययनरत विद्यार्थी भएकोले उनीहरुको पठनपाठनलाई अवरोध नगरी प्रशिक्षणको तालिका मिलाइएको उनले बताए ।

प्रशिक्षणको आयोजना गर्न मिक्लाजुङ-१ उत्तरे घरभइ हाल काठमाण्डौं बस्दै आएका कवि तथा साहित्यकार कैलाश शेर्मा(बच्चु हिमांशु) ले नगद ५० हजार रुपैंया,खेल सामाग्री सहित प्रशिक्षक ल्याउन समन्वय लगायतमा विशेष सहयोग पुर्याएको आयोजक समितिले जनाएको छ । क्लबका अध्यक्ष पञ्चकुमार चेम्जोङको अध्यक्षतामा प्रमुख अतिथि अखिल नेपाल फुटबल एसोसिएसन पाँचथरका उपाध्यक्ष शिव लावतीले आयोजक समितिलाई दुईवटा बल प्रदान गर्दै शनिबार प्रशिक्षणको उघाटन गरेका थिए ।कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष विष्णुकुमार राईको विशेष आतिथ्य रहेको थियो ।  फुटबल प्रशिक्षकको लाइसेन्स प्राप्त रोशन शाह ठकुरीले एक महिनासम्म प्रशिक्षण गराउने भएका छन् । खेल सिक्न निरन्तर उपस्थित हुन समेत प्रशिक्षक ठकुरीले सबै  सहभागीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा क्लबका सल्लाहकार समित सदस्य केबी चेम्जोङले स्वागत उपस्थितलाई गरेका थिए भने रोशन राईले कार्यक्रम संचालन गरेका थिए । घुर्बिसे पञ्चमी बजार व्यवस्थापन समिति अध्यक्ष टिका सम्बाहाम्फे,पार्टी प्रतिनिधि,संस्थाका प्रतिनिधि,स्थानीय समाजसेवी ,खेलप्रेमी लगायतले प्रशिक्षण सफलताको शुभकामना राखेका थिए । जातिय पहिचान झल्काउने लिम्बु जातीको केलाङ र राई जातीको साकेलासेली  सहित उद्घाटनमा प्रस्तुत गरिएको क्लबका सहसचिव भिम चेम्जोङले बताए ।

“एकीकृत विकासको अभियान” सहित फाल्गुनन्द-५,फाक्तेपमा २०७३ सालबाट आधिकारिक दर्ता भइ संचालन भएको यस क्लबले हरेक क्षेत्रमा सहयोग गर्दै आएको अध्यक्ष चेम्जोङले बताए । क्लबको सकृयतामा देश तथा विदेशबाट आर्थिक सहयोग संकलन गरि खेलकुद,रंगशाला निर्माण,सामाजिक कार्य,विकास निर्माणका काम,दैवीप्रकोप,अनाथ,अपाङ्ग,कमजोर आर्थिक अवस्थाका परिवारलाई सहयोग तथा उपचार खर्च लगायतमा सहयोग गर्दै आएको उनको भनाइ ।

यसैबीच,क्लबको अगुवाइमा संकलन गरेको २९ हजार दुई सय ९० रुपैंया मिर्गौलाको समस्याबाट ग्रसित फाल्गुनन्द-५,नागेम्बाका २९ वर्षिय देशकुमार चेम्जोङको श्रीमती संगीत राई चेम्जोङलाई हस्तान्तरण गरिएको छ ।

आर्थिक अवस्था कम्जोर भएको चेम्जोङको हाल ह्युमन अर्गेन ट्रान्सप्लान्ट सेन्टर भक्तपुरमा उपचार भइरहेको छ । दुवै मिर्गौला खराब भएका चेम्जोङको डाक्टरले ट्रान्सप्लान्ट गर्नुपर्ने बताएपछि उपचारको लागि उनका परिवारले देश विदेशमा रहेका नेपालीसंग हारगुहार गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार