इलाम : अर्गानिक चियाको गुणस्तर बढाउन र व्यापार प्रवर्द्धनका लागि इलाममा परियोजना सुरु भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड इलामले जिल्लामा ‘नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना’ सुरु गरेको हो ।
चिया रोप्नेदेखि, छाँटकाँट, मलजल, टिपाई, ढुवानी, प्रशोधन, प्याकेजिङलगायत सबै क्षेत्रमा किसान र उद्योगीलाई प्रयोगात्मक अभिमुखीकरण गर्नेगरी परियोजना सुरु भएको हो ।
परियोजनाअन्तर्गत जिल्लामा किसानका ११ समूह गठन भएका छन् । जिल्लामा छरिएका यी सबै समूह-समूहमै पुगेर प्राविधिकले चियाको कटिङसहित मौसमअनुसारका काम सिकाउने छन् । परियोजना वर्षभर चल्ने भएकाले सिजनअनुसार चियालाई गर्नुपर्ने हेरचाहबारे सिजन-सिजनमै प्रशिक्षण गरिने बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले बताए । ‘यो पूर्ण प्रयोगात्मक हिसाबको परियोजना भएकाले किसानलाई फिल्डमै प्रशिक्षण गराइने छ,’ उनले भने, ‘व्यावहारिक ज्ञान र सीप एकैपटक सिकाइने छ ।’
करिब १८ करोड रुपैयाँ खर्च हुने यो परियोजना ३ वर्षसम्म संचालन हुनेछ । परियोजनाको संचार प्रवर्द्धन नेपाल पत्रकार महासंघ इलाम शाखाले गर्नेछ । त्यसका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल पत्रकार महासंघबीच सम्झौता भएको छ ।
यसैबीच नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजनाको संचार प्रवर्द्धनका लागि शनिबार संचारकर्मी र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम हुँदैछ । विहान ११ बजेदेखि संचालन हुने अन्तरक्रियामा जिल्लाका ४० जना सक्रिया संचारकर्मी र सरोकारवालाहरुको सहभागिता हुने नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले जानकारी दिए । कार्यक्रममा परियोजनाको बारेमा संचारकर्मीलाई जानकारी गराईनेछ ।
परियोजनाको संचार प्रवर्द्धन अन्तरगत इलामको २० जना पत्रकारलाई लेखनवृत्ति प्रदान गरिनेछ । नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजनासँग सम्बन्धित गतिविधिहरुलाई स्थानीय तथा राष्ट्रिय संचारमाध्यममा प्रकाशन र प्रशारणका लागि पत्रकारलाई ५/५ हजार रुपैयाँको लेखनवृति प्रदान गरिने अध्यक्ष भट्टराईले जानकारी दिए । ‘जिल्लाबाट स्थानीय र राष्ट्रिय रेडियो, टेलिभिजन, छापा पत्रिका र अनलाइन पत्रिकामा कार्यरत २० जना पत्रकार छनौट गरी परियोजनाको गतिविधि प्रचारप्रसारका लागि लेखनवृति प्रदान गरिनेछ’ अध्यक्ष भट्टराईले भने, ‘पत्रकारको छनौट महासंघले नै आवश्यक मापदण्ड तयार गरी गर्नेछ ।’ छनौट भएका पत्रकारहरुले परियोजनासँग सम्बन्धित एक/एक वटा अनुसन्धानमूलक समाचार एवम् सफलताको कथा आफ्नो संचारमाध्यमा प्रकाशन/प्रशारण गर्नुपर्नेछ ।
त्यसैगरी परियोजनाद्वारा अन्तरगत संचालित गतिविधिहरुलाई स्थानीय संचारमाध्यम (रेडियो, छापा पत्रिका, अनलाइन पत्रिका) मार्फत प्रचारप्रसार गर्न मिडिया सपोर्ट गरिनेछ । जिल्लाबाट संचालित एफएम रेडियो, छापा एवम् अनलाइन पत्रिकामार्फत प्रचारप्रसार गरिनेछ । संचारमाध्यमले परियोजनासँग सम्बन्धित साक्षात्कार, छलफल र अन्य प्रासंगिक आलेखहरु, समाचार, अन्तरवार्ता, फोटो, सफलताको कथा, सूचनालगायतका सामग्री प्रकाशन/प्रशारण गर्नुपर्नेछ । सामग्री प्रकाशन/प्रशारण वापत त्यस्ता संचारमाध्यमलाई समेत आर्थिक सहयोग प्रदान गरिने महासंघले जनाएको छ ।
परियोजना अन्तरगत यसअघि जिल्लाका किसानलाई पहिलो चरणको प्रशिक्षण सञ्चालन गरिसकिएको छ । हरेक ३० किसानका लागि कम्तीमा दुई प्राविधिकको अवधारणाअनुसार काम हुनेछ । पहिलो चरणमा २ हजार ७ सय ९० किसानले चियाको प्राविधिक सीप सिक्नेछन् ।
तयारी चियामा गुणस्तर कायम राख्न उपभोक्तादेखि विक्रेता हुँदै किसानसम्मको मार्ग ‘ट्रेसिङ’ गर्ने पनि परियोजनाको लक्ष्य छ । उपभोक्ताको गिलाससम्म पुगेको चिया उपभोग गर्दा गुणस्तरमा कुनै कमजोरी पाइए त्यो कुन बगानको चिया हो भन्ने बाटो पहिल्याउन परियोजनाले सहयोग गर्नेछ । त्यस्तै अर्गानिक उत्पादनलाई प्रोत्साहन गरी नेपालको अर्गानिक चिया विश्व बजारमा प्राङ्गारिक उत्पादनका रूपमा स्थापित गर्न समेत परियोजनाले सहयोग गर्नेछ ।
परियोजनाले अर्गानिक चिया उत्पादनका लागि आवश्यक सामग्री, तालिम, सचेतना, प्रोत्साहलगायत कार्यक्रम र गतिविधि सञ्चालन गर्नेछ । परियोजनाले अर्गानिक उत्पादन मात्र नभई किसानको चिया अर्गानिक प्रमाणीकरणका लागि समेत सघाउनेछ । यसका साथै उत्पादित अर्गानिक चियाको परिमाण-गुणस्तर दुबै बढाएर बाह्य तथा आन्तरिक बजारमा खपत बढाउने क्रियाकलाप गरिने बोर्डले जनाएको छ ।
नेपालमा उच्च गुणस्तरको अर्गानिक अर्थोडक्स चिया उत्पादन हुन्छ । बोर्डले निश्चित मापदण्ड पुर्याएका चिया किसान, उद्योगी र व्यापारीलाई ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ लेखिएको आधिकारिक ट्रेडमार्क प्रदान गर्ने गरेको छ ।