काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न निर्वाचनमा उनी विजयी भएका हुन् । देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका हुन् ।
सोमबार सम्पन्न निर्वाचनमा देउवा, कोइराला सहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो । देउवा र कोइरालाले बढी मत पाएपछि दुई जना दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
यसअघि दुईपटक सभापति पदमा पराजित भएका देउवा १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा पुगेका थिए । त्यसक्रममा पनि उनी दोस्रो चरणको निर्वाचनमा नेता रामचन्द्र पौडेललाई पराजित गर्दै पहिलो पटक सभापतिमा निर्वाचित भएका थिए ।
को हुन् देउवा ?
२००३ सालमा डडेलधुरामा जन्मिएका देउवा विद्यार्थी कालदेखि कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका थिए । नेपाल विद्यार्थी संघको (दोश्रो) महाधिवेशनबाट अध्यक्ष चयन भएका देउवा २०४६ सालपछिका तीनवटै संसदीय निर्वाचन र दोश्रो जनआन्दोलनपछिका दुईवटै संविधानसभा चुनावमा लगातार विजयी हुँदै आएका छन् । देउवा गृहमन्त्री हुँदै २०५२ सालमा पहिलो पटक प्रधामन्त्री बनेका थिए ।
२०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक प्रधानमन्त्री बनेका थिए । देउवा पाँचौं पटक देशको प्रधानमन्त्री बनेका छन् । पछिल्लो पटक उनी केपी शर्मा ओलीको बहिर्गमनपछि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका हुन् ।
गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए । २०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी फेरि नेपाली कांग्रेसमा एकीकृत भएको थियो ।
त्यसपछि देउवाले पार्टीमा आफ्नो प्रभाव बढाउँदै लगे । कोइराला परिवारको बोलावाला रहेको कांग्रेसमा उनी लगातार दुई पटक विजयी हुँदै सभापति निर्वाचित भएका छन् ।
देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन् । सन् १९८९ देखि १९९० सम्म उनी लन्डन स्कूल अफ इकनिमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो रहेका थिए ।