काँग्रेस सभापतिका उम्मेदवार शेखरको पक्षमा मतदाता उत्साही

  नयाँ बुलन्द
336 Shares

 

इलामः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान हुँदैछ। प्रतिनिधिहरु भोट खसाल्न लामबद्ध भएका छन् भने उम्मेदवारहरु मत माग्न ब्यस्त छन्।

सभापतिको दौडमा रहेका हरेक उम्मेदवारले मतदातालाई प्रभावित गर्ने काम गरिरहेका छन् । कसैले इमोस्नल कुरा गरिरहेका छन् भने कसैले त्रास देखाएर भोटको राजनीति गरिरहेका छन् । तर, कांग्रेस प्रतिनिधिहरुमा यस पटक अनौठो खालको माहौल देखिएको छ।

मतदान स्थलमा अत्याधिक प्रतिनिधिको झुकाव सभापतिका उम्मेदवार शेखर कोईरालाका पक्षमा देखिएको छ । कोइरालाको पक्षमा निक्कै उत्साही भएर मतदाता चुनावी मैदानमा खटिएका छन् । उनी मतदाताहरुसँग मत माग्न पनि उत्तिकै ब्यस्त छन् । कांग्रेसलाई लामो समयदेखि नेतृत्व गरेका शेरवहादुर देउवाले पार्टीलाई रसातलमा पुर्याएको कतिपय मतदाताहरु वताउँछन् । महाधिवेशन पछि पार्टीलाई एक ढिक्का वनाएर देशको अवस्था परिवर्तनमा जुट्न उनीहरुले सुझाव दिईरहेका छन् ।

देउवाको नेतृत्वमा पार्टी सरकार, सदन र सडक कतै पनि चुस्त नदेखिएकाले एक पटक नेतृत्व परिवर्तन जरुरी रहेको उनीहरुको भनाई छ । ‘देउवाको पुस्ताले पार्टीलाई कहाँ पुर्यायो हामी सवैले देखेका छौ, कांग्रेस कमजोर भएकै कारणले अहिले देशले दुर्गती भोगिरहेको छ’ एक महाधिवेशन प्रतिनिधि भन्छन्–‘त्यसैले अव पार्टीलाई चुस्त वनाउन नेतृत्व परिवर्तन जरुरी छ। नेतृत्व अर्को पुस्तामा जान जरुरी छ।’

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान केन्द्र बनाइएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको छ ।

महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् । प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्रांगणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ।

निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ । महाधिवेशनबाट सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् ।

मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिको नामावली सार्वजनिक भएको छ ।-नेपाल आवाजबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार