घुर्बिसे सहकारीको नवौं साधारणसभा

  युद्धबहादुर बोहोरा
665 Shares

पाँचथर : इलाम र पाँचथरको सिमाना घुर्बिसे पञ्चमीमा संचालित घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा  सम्पन्न भएको छ ।

शनिबार सम्पन्न सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष वीरनरसिंह चेम्जोङले सार्वजनिक गरेका थिए । संस्थाले यस वर्ष १६ लाख ५१ हजार एक सय ७२ रुपैंया खुद नाफा आर्जन गर्न सफल भएको छ । यस वर्षको खुद बचत (मुनाफा ) गत वर्षको तुलनामा बृद्धि समेत भएको छ ।

नौ सय ९६ जना सदस्य रहेको संस्थामा पाँच सय ६५ महिला र चार सय २६ पुरुष साथै दुई सय ४४ बालबचत संख्या रहेको छ । सहकारीले शेयर सदस्यलाई यस वर्ष १० प्रतिशत शेयर लाभांश वितरण गरिएको जनाएको छ । अध्यक्ष चेम्जोङले पेश गरेको प्रस्तावित कार्ययोजनाका कर्मचारी पोषाकको व्यवस्था,यस आर्थिक वर्षमा जग्गा खरिद गरि सहकारीको आफ्नो भवन निर्माणको थालनी गर्ने,यसअघि शेयर सदस्यको मृत्यु भएमा काजकिरिया खर्च सहयोग स्वरुप परिवारलाई एक हजार रुपैंया उपलब्ध गराउँदै आएको थियो भने यस आर्थिक वर्षदेखि प्रति व्यक्ति १० हजार रुपैंया प्रदान गर्ने भएको छ । संस्थाले निकट भविष्यमा सहकारी सफ्टवेयर जडान गरी कारोवारलाई डिजिटल प्रविधिमा लैजाने वार्षिक प्रतिवेदन र प्रस्तावित कार्ययोजना तथा लक्ष्य सर्वसम्मतले पारित भएको संस्थाका सचिव राजकुमार श्रेष्ठले जानकारी दिए ।

सहकारीले गत आर्थिक वर्षमा शेयर पूँजी,बचत,लगानी,सम्पूर्ण कोष हिसाब र सम्पत्ति तथा दायित्व सहित अहिले सम्मको वासलत छ करोड ४९ लाख ५६ हजार पाँच सय ६० रुपैयाँको कारोवार गरेको छ । कोषाध्यक्ष विमला पोख्रेलले ५५ लाख ५१ हजार नौ सय ३३ रुपैया आम्दानी मध्ये १६ लाख ५१ हजार एक सय ७२ रुपैया शुद्ध बचत (नाफा) को हिसाव आर्थिक प्रतिवेदनमा प्रस्तुत गरेकी थिइन् भने लेखा प्रतिवेदन संयोजक सारानाथ पोख्रेलले पेश गरेका थिए ।

यस संस्थालाई युवा तथा साना व्यवसायी स्वरोजगार कोष काठमाण्डौबाट उद्यम गर्न चाहने युवा व्यवसायीको लागि सस्तो ब्याजदरको ऋण माग गरि ५० लाख स्वीकृत भएको र पहिलो किस्ता २५ लाखबाट दुई लाख  रुपैंयाका दरले ११ जनालाई लगानी गरिसकेको छ । फराकिलो सेवाक्षेत्र ओगटेको यस संस्थाले प्रत्येक महिना दुई स्थानबाट घुम्ती सेवा प्रदान गर्दै आएको जनाएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट सदस्यहरुलाई सम्मान गरेको थियो । सम्मानित हुनेहरूमा जेष्ठ सदस्य वेन बहादुर आङ्देम्वे र रन्दता भट्टराई सम्मानित भएका थिए । असल ऋणको कारोवार गर्ने डिल्ली बस्नेत साथै कृष्ण माया नेपाली,बालबचत तर्फ आयुस आङ्देम्बे र जानुका चेलीफुङलाई प्रमुख तथा विशेष अतिथिबाट नगद सहित सम्मान गरिएको थियो ।

त्यस्तै,संस्थाद्वारा व्यवसायिक,कृषि,घर निर्माण र पशुपालनको क्षेत्रमा जग्गा धितो र दृष्टि बन्धकमा दुई लाख देखि १० लाख सम्म न्यूनतम व्याजदरमा हाल चार करोड १६ लाख तीन हजार सात सय १३ रुपैंया ऋण लगानी गरेको छ । कोरोना महामारीसंगै खराब ऋण बृद्धि भएका कारण संस्थाले असुली गर्न निक्कै कसरत गर्नु पर्ने भएको जनाइएको छ । यस संस्थाले विधुत बिल,डिसहोम रिचार्ज,मोवाइलका रिचार्ज, हवाई टिकट साथै आइएमइ,प्रभु,हिमाल रेमिटेन्सबाट मासिक ५० लाख रुपैयासम्मको कारोबार विगत तीन वर्षदेखि गर्दै आएको व्यवस्थापक युवराज निरौलाले बताए ।

फाल्गुनन्द गाँउपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंक फिदिमका सहायक प्रबन्धक ओम प्रकाश मैनाली,कर्मचारी नबीन भट्टराई,जिल्ला बचत संघ पाँचथरका सचिव मनोज राई लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

शुभकामना मन्तव्यमा प्रमुख अतिथिले कुरुम्बाङले पालिका भित्र रहेका ३३ वटा विभिन्न सहकारी रहेको र सहकारी संजाल समेत गठन भएको जनाए । धेरै सहकारी मध्ये यो सहकारी निक्कै सवल ढंगले अगाडि बढिरहेको बताउँदै स्थानीय सहकारीले मुनाफा कमाए स्थानीय बासिन्दाको हितमा काम गर्ने भएकोले सदस्य बनेर सुविधा लिन आग्रह गरे । सहकारीबाट ऋण लिएर उपलब्धि मुलुक क्षेत्रमा सदुपयोग गर्दै अनुशासित कारोबार गर्दा सबैको हित हुने उनले बताए ।

हरेक सहकारीहरु समाज र समुदायमा भिज्दै स्थानीय नागरिकसंग आत्मिय भएर हिंड्न सक्नु पर्नेमा जोड दिंदै सहकारीले शिक्षा, स्वास्थ लगायत अन्य सामाजिक क्षेत्रमा लगानी गरी नाफामुखी भन्दा पनि सेवामुखी भएर अगाडि बढ्नु पर्ने अतिथिहरुले बताए । सहकारीले गरेका गतिबिधिहरुको चर्चा गर्दै वार्षिक साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा नं ५ का अध्यक्ष अविन्द्र प्रसाद चेम्जोङ,महिला सदस्य चन्द्रकला आङ्देम्बे,सहकारी संस्थाका प्रतिनिधि,घुर्बिसे बजार व्यवस्थापन समिति अध्यक्ष टिकाराम सम्बाहाम्फे,जनप्रतिनिधि,शेयर सदस्य, संघसंस्थाका प्रतिनिधि तथा शुभचिन्तकहरुको उपस्थिति रहेको कर्यक्रमलाई संचालक समिति सदस्य केहेरसिं चेम्जोङले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव राजकुमार श्रेष्ठले संचालन गरेका थिए ।

२६ जना स्थानीय अग्रजले एक दशक अघि २६ हजार रुपैंयाबाट झोलादेखि स्थापना गरेको यस संस्थाले नाफामुखी भन्दा पनि सेवामुखी भावनाको विकाश गर्दै स्थानीय क्षेत्रमा ठोला बैंकको अभावमा इलाम र पाँचथरका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । सिमावर्ती दुई जिल्लाका शेयर सदस्य भएकोले यस सहकारीलाई प्रदेश सहकारीमा आवद्ध हुने प्रकृयामा रहेको छ ।

२०७१ सालमा ५८ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा यस संस्थालाई डिभिजन सहकारी कार्यलय इलामले पाँचथर जिल्लाको उत्कृष्ट बचत तथा ऋण पुरस्कार प्रदान गरेको छ । संस्थाद्वारा समिति सदस्य र कर्मचारीको सहभागितामा लेखा,ऋण,सहकारी,तरलता व्यवस्थापन लगायतका तालिम सम्पन्न गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार