इलाम : ‘आठौं मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार २०७८’ बाट पाँचथरका पत्रकार भीमकुमार बाँस्कोटा पुरस्कृत भएका छन् ।
मानव अधिकार मञ्च नेपाल इलामले हरेक वर्ष विश्व मानव अधिकार दिवसको अवसरमा प्रदान गर्दै आएको प्रदेशस्तरीय सो पुरस्कार शुक्रबार बाँस्कोटालाई प्रदान गरेको हो ।
७३ औं विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकार बाँस्कोटालाई प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख गणेप्रसाद बरालले १० हजार रुपैयाँको चेकसहित सम्मानपत्र प्रदान गरे ।
पत्रकारिताका माध्यमबाट मानवअधिकारका क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई प्रदेश स्तरीय मानवअधिकार पत्रकारिता वर्ष पुरस्कार मानव अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको छ ।
पाँचथमा रहेर मानवअधिकारका क्षेत्रमा समेत कमल चलाउँदै आएका बाँस्कोटा अन्नपूर्ण पोष्ट दैनिक र एपीवान टेलिभिजनमा आवद्ध छन् । विगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशील बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाबाट केन्द्रीय पार्षद हुन् । उनी जिल्ला शाखामा दुई कार्यकाल र्कासमिति सदस्य र एक कार्यकाल कोषध्यक्ष भएर काम गरिसकेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बरालसहित, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का, प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठ, गैरसरकारी संस्था महासंघ प्रदेश १ का अध्यक्ष प्रकाश अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैबीच इन्सेक प्रतिनिधि वविता मैनालीले प्रस्तुत गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ प्रकाशन पूर्व तयार पारिएको प्रतिवेदन र याम माबोहाङले प्रस्तुत गरेको इलाम जिल्लाको मानवअधिकारको अवस्था सम्बन्धी कार्यपत्रमा छलफल भएको थियो । कार्यक्रम मञ्चका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षतामा भएको थियो ।