इलाम : जनता समाजवादी पार्टी नेपालको संगठन सुदृढीकरण तथा जनगाजरण (सुज) अभियान अन्तरगत इलामको सन्दकपुर गाउँपालिकामा जनसभा तथा अभिमुखीकरण सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपाल ४ नम्बर वडा समिति माबुको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव, केन्द्रीय सदस्य आङकाजी शेर्पा, मित्रप्रसाद चापागाईं, प्रदेश सदस्य लिलाबहादुर सुनुवारलगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री यादवले हिमाल, पहाड र मधेसको भावनात्मक एकता हुनुपर्नेमा जोड दिए । आफ्नो पार्टी न्याय र समानताकै लागि जन्म भएको उल्लेख गर्दै यादवले सबैलाई समान अधिकार र पहिचान दिनका लागि सधैं प्रतिवद्ध रहेको उल्लेख गरे । ‘समानुपातिक र समावेशी सिद्धान्तलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने एकमात्र पार्टी जसपा हो’ उनले भने, ‘हाम्रो पार्टीको केन्द्री नेतृत्व र समानुपातिक सांसदको सूचि हेर्नहोस्, त्यहीबाट पुष्टी हुन्छ ।’
मन्त्री यादवले प्रदेशको नामाङ्करण पहिचानको आधारमा गरिने विश्वास दिलाए । प्रदेश १ विभिन्न जाति र समदायको बसोबास भएको क्षेत्र भएको र उनीहरुक भिन्नभिन्न पहिचान भएकाले कुनै न कुनै रुपमा पहिचानलाई सम्बोधन गरेर नै नामाङ्करण गरिने बताए ।
केन्द्रीय सदस्य आङकाजी शेर्पाले वर्तमान संविधान संसोधन गरेर सबैको पहिचान र अधिकार स्थापित गर्नुको विकल्प नरहेको बताए । आफ्नो पार्टीले सबैको पहिचान र अधिकारका लागि १० जोड १ प्रदेशको मुद्धा उठाउँदै आएको उल्लेख गर्दै त्यसका लागि जसपालाई जिताएर पठाउन सन्दकपुरबासीमा अपिल गरे । ‘आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, महिलालगायत उत्पीडित वर्गको मुद्धा बोकेको पार्टी जसपा मात्र हो, त्यसैले जसपालाई जिताए मात्र तपाइको मुद्धा सम्बोधन हुन्छ’ शेर्पाले भने, ‘अहिलेसम्म त्यही एमाले र कांग्रेसलाई जिताउनुभयो, अनि तपाइको मुद्धा कहाँबाट सम्बोधन हुन्छ त? अब जसपालाई जिताएर पठाउनुहोस् । हामी तपाइको मुद्धा सम्बोधन गर्नेछौं।’
कार्यक्रममार्फत एमाले र कांग्रेस परित्याग गरी एक दर्जन कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरका छन् ।
वडा अध्यक्ष विवी साउदेनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव चेतनराज राईले गरेका थिए ।