प्रदेश १ को नाम पहिचानको आधारमा ‘किरात प्रदेश’ : मन्‍त्री आङ्बो

  नयाँ बुलन्द  215 पटक हेरिएको

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ ।

इलाम (माङसेबुङ) : प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ ले पहिचानको आधारमा प्रदेश १ को नामाङ्करण गर्न सरकार तयार रहेको बताएका छन् ।

शनिबार इलामको माङसेबुङमा किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रो आङ्बोले आफू पहिलेदेखि नै किरात प्रदेशको पक्षमा रहेको उल्लेख गर्दै प्रदेश १ को जनताको चाहनाअनुसार पहिचानको आधारमा नै नामाङ्करण गरिने बताए

‘तत्कालका लागि यो प्रदेशको नाम किरात नै उपयुक्त हुन्छ’ मन्त्री आङबोले भने, ‘गबन्धन सरकार समेत पहिचानको आधारमा प्रदेश नामाङ्करण गर्न तयार छ । हामी आपसी छलफल र सहमतिमा नाम टुङ्ग्याउँछौं ।’ उनले प्रमुख प्रतिपक्षी दलले सरकारदेखि बदलाको भावना नलिई सहयोग गरेमा प्रदेशको नामाङ्करण गर्न सहज हुने समेत बताए ।

मन्त्री आङ्बोले किरात धर्मगुरु आत्मानन्द लिङदेनले माङसेबुङ र किरात धर्मलाई विश्वमा चिनाएको उल्लेख गर्दै थप विकासका लागि प्रदेश सरकारबाट कोसिस गर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा प्रदेश सभा सदस्य धिरेन्द्र शर्मा ‘रमण’ लगायत विभिन्न राजनैतिक दलका नेताहरु, स्थानीय तहका प्रमुखहरु, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, साधुसन्त लगायत किरात धर्मावलम्बीहरुको उपस्थिति थियो ।

किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सहअध्यक्ष डकेन्द्रसिंह थेगमले स्वागत र महासचिव काकीराम लावतीले संचालन गरेका थिए ।

धर्मगुरुको जन्मोत्सव मनाउन नेपालसहित विश्वका विभिन्न मुलुकहरुबाट किरात धर्मावलम्बीहरु माङसेबुङ आएका छन् ।

शनिबार मंसिर १८ गते, किरात धर्मगुरु आत्मानन्द लिङदेन ६८ वर्षमा प्रवेश गरेका छन् । धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा विभिन्न कार्यक्रम गरि जन्मोत्सव मनाइएको छ ।

दिउँसो १ बजे प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले धर्मगुरु लिङदेनको ६८ औं जन्मोत्सवको उद्घाटन गरे । साथै सावायेहाङ नोमाङगेन्ना सेवा, नाहेन लाक्मा र विविध सांस्कृतिक कार्यक्रम गरिएको छ ।

आइतबार धर्मगुरु लिङदेनबाट आर्शीवचन, मिक्तोक ९उपहार० वितरण, संस्थागत धन्यवादपत्र वितरण, पुस्तकरपुस्तिका विमोचन, सहित्यिक तथा साँस्कृतिक कार्यक्रम तय भएको छ । यसैगरी सोमबार माङगेन्ना चामल वितरणसँगै विदाई गरिनेछ ।

इलामको माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती हुने गर्दछ । जन्मोत्सवमा यसअघि पूर्व राजा वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपति डा। रामवरण यादव, पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, शुशिल कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत माङसेबुङ आइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार