इलाम : आगामी निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलनको सुरु गरेको छ ।
फोटोसहितको नामावली संकलन विशेष कार्यक्रम २०७८ अन्तरगत आयोगले इलामसहित देशभर स्थानीय तहको केन्द्रबाट फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेको हो ।
आउँदो चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै इलाममा पहिलो चरणमा शुक्रबारदेखि माङसेबुङ, फाकफोकथुम, सन्दकपुर र माइजोगमाई गाउँपालिका र देउमाई नगरपालिकामाफोटोसहितको मतदाता नामावली संकलन सुरु भएको हो ।
पहिलो चरण अन्तरगत २६ मंसिरसम्म संचालन हुनेछ । त्यसैगरी दोश्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म संचालन हुनेछ ।
दोस्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म ४ वटा स्थानीय तह रोङ र चुलाचुली गाउँपालिका एवम् सूर्योदय र माई नगरपालिकाको केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलनको काम गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रहेको इलाम नगरपालिकामा भने त्यहीबाट नियमित रुपमा फोटो सहितको मतदाता नामावली संकलन गरिनेछ ।
मतदाता नामावली दर्ताका लागि १६ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपि सहित आफ्नो स्थानीय तहको केनद्रमा पुग्नुपर्ने छ । तोकिएको समय अवधिभित्र अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालयमा पुगेर फोटो सहितको मतदाता नामावली दर्ता गर्न सक्नेछन् ।
मतदान गर्न योग्यता पूरा भएका कोही पनि व्यक्ति मतदानबाट वञ्चित नहुन् भन्ने आयोगको अभिप्राय छ ।