आत्मानन्द गोल्डकपको उपाधि माङसेबुङलाई

  राम योङहाङ  800 पटक हेरिएको


माङसेबुङ : इलामको माङसेबुङमा संचालित १४ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिताको उपाधि घरेलु टिम माङसेबुङ गाउँपालिका खेलकुद समितिले जितेको छ ।

शुक्रबार भएको फाइनलमा बिबिएफसी दमक झापालाई सडेन डेथमा पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो ।
निर्धारित समयमा गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि सडेन डेथको आधारमा विजेता निर्धारण भएको थियो ।

सुरुदेखि नै विपक्षीलाई दवावमा राख्न सफल भएको दमकले गोल गर्न नसकेपछि उपविजेतामा नै चित्त बुझाउन बाध्य बन्यो । दोश्रो हाफपछि ८ खेलाडीमा सीमित माङसेबुङलाई दवावमा राखेपनि गोल गर्न सकेन ।

यता माङसेबुङले भने सुरुदेखि नै रक्षात्मक खेलेको थियो । माङसेबुङका गोलरक्षक आयुस लिम्बूले रेडकार्ड पाएर बाहिरिएपछि रक्षात्मक खेल्न समेत हम्मेहम्मे परेको थियो । निर्धारित समयसम्म खेल बराबरीमा रोक्न सक्नु नै माङसेबुङका लागि जितको आधार तय भएको थियो ।

जितसँगै माङसेबुङले नगद ३ लाख १ सय ६८ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता दमकले नगद २ लाख १ सय ६८ रुपैयाँमा चित्त बुझाएको छ ।

त्यस्तै उत्कृष्ठ गोलरक्षक विजेता टिमका आयुस लिम्बू, उत्कृष्ठ डिफेण्डर विजेताकै रोनिस राई, उत्कृष्ठ खेलाडी विजेताकै प्रविन राई र सर्वाधिक गोलकर्ता उपविजेता टिमका किस्मत लिम्बू घोषित भए ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सवका अवसरमा ११ मंसिरदेखि संचालित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार