रवि स्वास्थ्य केन्द्रमा दुर-चिकित्सा (टेलिमेडीसिन) सेवा शुरु

  युद्धबहादुर बोहोरा
1.7k Shares

 

पाँचथरः मिक्लाजुङ गाँउपालिकाको रवि बजारस्थित रबि स्वास्थ्य केन्द्रमा दुर-चिकित्सा (टेलिमेडीसिन) सेवा शुरुवात भएको छ ।

नागरिकलाई विशेषज्ञ डाक्टरहरुको सेवामा पहुँच बृद्धि गरि स्वास्थ्य सेवामा सुधार गर्ने उदेश्यले ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम (आरइआरए) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको संयुक्त प्राविधिक सहकार्यमा जर्मन विकास नियोगका विकास सहायता उपप्रमुख सिमन हेन्केलेबाट बुधबार यस सेवाको उद्घाटन गरि संचालनमा ल्याइएको हो ।

उक्त सेवाबाट दिर्घरोगी,आर्थिक कम्जोर भइ स्वास्थ्य सेवाबाट वञ्चि हुने बिरामी र टाढा गएर उपचार लिन नसक्नेलाई मध्यनजर गर्दै उनीहरुलाई बढी लाभ पुग्ने लक्ष्य सहित पालिकाको ३७ लाख ७७ हजार र ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमबाट करिब ७२ लाख लगानी सहयोगमा (टेलिमेडीसिन) सेवा संचालन गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल तिखत्रीले जानकारी दिए ।

उक्त रकमबाट स्वास्थ्य केन्द्रमा स्वास्थ्य मेशीनहरु थप,भिडियो कन्फरेन्सका लागि आवश्यक उपकरण जडान,बिजुलीको लागि सौर्य प्रणाली जडान तथा क्षमता विकाश तालिमहरु संचालन गर्न खर्च गरिएको जनाइएको छ । सम्पूर्ण व्यवस्थापन पालिका र स्वास्थ्य केन्द्रले मिलाइ दुई महिना अगाडिदेखि परीक्षण थालिएको हो ।  यस कार्यक्रमबाट हालसम्म ८४ जनाले सेवा लिएका छन् ।

इन्टरनेटमा आधारित दुरस्वास्थ्य सेवाको माध्यमले दुर्गम र ग्रामीण क्षेत्रमा रहेका बिरामीहरुले सुगम तथा शहरी क्षेत्रमा रहेका ठूला अस्पतालका विषेशज्ञसंग भिडियो कन्फरेन्स मार्फत स्थानीय स्वास्थ्य चौकीको सहयोगमा परामर्श लिन सकिने व्यवस्था मिलाइएको छ । दुर्गमका बिरामीहरुका लागि डाक्टरको सेवा सहज मिलाउन महामरीको समयमा झनै उपलब्धिमुलक भएको छ । यस स्वास्थ्य केन्द्रमा ओपिडी,इमर्जेन्सी,युएस्जी,अल्ट्रासाउण्ड,इसीजी,ल्याव टेष्ट लगायत प्रसुती सेवा संचालनमा छ । एक डाक्टर सहित २४ जना स्वास्थ्यकर्मी रहेको यस संस्थाको अतिथिबाट अवलोकन समेत भएको थियो ।

उद्घाटन कार्यक्रम पालिकाका अध्यक्ष अमरराज माखिमको अध्यक्षतामा नवीकरणीय ऊर्जा कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार क्रिश्चीयन लिड्के लगायत जनप्रतिनिधिहरु,ऊर्जा विकास उपसमिति संयोजक,स्वास्थ्यकर्मीको उपस्थितिमा सेवा सुचारू गरिएको छ । प्रशासकिय अधिकृत तिखत्रीले स्वागत मन्तव्य राखिएको कार्यक्रम स्वास्थ्य केन्द्रका डाक्टर बाल कुमार लिम्बुले अंग्रेजी र नेपाली दुवै भाषामा संचालन गरेका थिए । उक्त कार्यक्रममा पालिका अध्यक्ष माखिम र उपाध्यक्ष उर्मिला राईले अतिथिलाई मायाको चिनो प्रदान र थप कार्यक्रम संचालन गर्न प्रस्तावनापत्र पेश गरेका थिए ।

पालिका र वैकल्पिक ऊर्जा प्रवर्ध्दन केन्द्र ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम (आरइआरए) बिच ०७५ पौष २ गते सम्झौता गरिएको हो । पालिकाले नवीकरणीय ऊर्जा नीति तर्जुमा तथा जारी,जलश्रोत उपयोग कार्यविधि तर्जुमा तथा जारी गरि थप कार्यक्रमहरु संचालनको प्रकृयामा अगाडि बढेको कार्यालयले जनाएको छ ।।

नेपालमा स्वास्थ्य सेवा पुग्न नसकेका दुर्गम क्षेत्रका ३० भन्दा बढी जिल्लामा करिब ६ वर्ष पहिलेदेखि दुर-चिकित्सा (टेलिमेडीसिन) सेवा संचालनमा ल्याइएको छ । कर्णाली जस्तो अति दुर्गम क्षेत्रमा यो सेवा धेरै प्रभावकारी बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार