सीप विकास परियोजनाबाट ३ सय २० जनाले लिए नि:शुल्क तालिम

  नयाँ बुलन्द
161 Shares

इलाम :  इलाममा संचालित ‘दीगो रोजगारको लागि सीप विकास परियोजना’ अन्तरगत ३ सय २० जना युवाले होटल सम्बनधी निशुल्क तालिम लिएका छन् ।

इलाम र सूर्योदय नगरपालिकाका होटलमा संचालित तालिमका सहभागीहरुलाई होटल तथा आतिथ्यता व्यवस्थापनको क्षेत्रमा आवश्यक पर्ने ‘रुम एटेन्डेन्ट’, ‘होटल एसिस्टेन्ट’, ‘वेटर/वेट्रेस’, ‘जेनरल कुक’, ‘कन्टिनेन्टल कुक’, ‘हाउस किपिङ’, ‘क्लिनर’, ‘रिसेप्सनिस्ट कम क्यासियर’, ‘जेनरल कुक’ लगायतको सीप सिकाइएको परियोजाम संयोक राम रिमालले जानकारी दिए ।

तालिममा ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत मात्र सैद्धान्तिक कक्षा मात्र रहेको हुँदा तालिम राम्रो भएको सहभागीले बताए । कोभिड माहामारीका कारण सयौंले रोजगारी गुमाइरहेको बेला इलाममा होटल तालिम सञ्चालनले देशमै रोजगारी बन्न उर्जा थपेको सहभागीको भनाई छ । दक्ष कामदार उत्पादनले जिल्लाका होटल सञ्चालनमा थप टेवा पुगेको पाईन्छ ।  होटलका लागि आवश्यक पर्ने जनश्कित जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता हटेको होटल सञ्चालक प्रकाश चापागाईँ बताउँछन् ।

तालिममा सहभागीहरुलाई राष्ट्रिय सीप विकास बोर्डको लेवल १ को सीप परिक्षण परिक्षामा सहभागी गराएर रोजगारीको निम्ति आवश्यक क्षेत्रमा पठाइने छ । तालिम गराएर सीप परिक्षण गराइसकेपछि बजारमा जहाँ जस्तो जनशक्तिको माग छ, त्यहाँ तालिम लिएका व्यक्तिहरुको सम्पर्क गराइदिने संयोजक रिमालको भनाई छ ।

परियोजनाका लागि ३ करोड २३ लाख ९७ हजार ६ सय ८५ रुपैयाँ बजेट उपलब्ध थियो । जसमध्ये ७३ दशमलव ६३ अर्थात २ करोड ३८ लाख ५४ हजार ४ सय १५ रुपैयाँ कार्यक्रम खर्च र १९ दशमलव ३७ प्रतिशत अर्थात ६२ लाख ७५ हजार ४ सय ३२ रुपैयाँ प्रशासनिक रहेको छ । त्यस्तै ७ प्रतिशत अर्थात २२ लाख ६७ हजार ८ सय ३८ रुपैयाँ संस्थाको शिरोभार रकम रहेको छ ।

जसमध्ये हालसम्म कार्यक्रमतर्फ ६३ दशमलव ३१ प्रतिशत र प्रशासनिकतर्फ १३ दशमलव २० प्रतिशत खर्च भइसकेको बुधबार आयोजित अन्तरक्रियामा जानकारी गराइएको छ ।

इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालुको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष आनन्द कट्टेल, होटल एसोसिएसनका अध्यक्ष देवी पौड्याललगायतले मन्तव्य राखेका थिए ।

बेरोजगार तथा रोजगारमा नवप्रवेशी युवाहरुलाई सीप विकास तालिम मार्फत दक्ष जनशक्तिको रुपमा तयार गरि दीगो रोजगारको सिर्जना गर्ने उद्देश्यले इलाममा गत वर्षदेखि सो परियोजन संचालित छ ।

युरोपियन युनियनको आर्थिक सहयोग, ब्रिटिस काउन्सीलको कोष व्यवस्थापन तथा दक्षता कार्यक्रम अन्तरगत इलाम उद्योग वाणिज्य संघले संचालन गर्ने १५ महिने परियोजनाको १ वर्ष बितिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार