एमाले केन्द्रीय सदस्यमा पाँचथरका चार नेता निर्वाचित

  नयाँ बुलन्द
455 Shares

इलाम : नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनमा पाँचथरका चार जना नेताहरु केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका छन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले घोषणा गरेको निर्वाचन परिणाम अनुसार पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ, पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्यद्वय डम्बरसिंह सम्बाहाम्फे र श्रीप्रसाद जबेगू तथा संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ एमालेको केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका हुन् ।

यसअघि पनि एमालेको केन्द्रीय कमिटीमा सदस्य रहनुभएका डम्बरसिंह सम्बाहाम्फे र अइन्द्रसुन्दर नेम्वाङ १०औं महाधिवेशनमा जनजाति पुरुष कोटाबाट निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भए । उम्मेद्वारी दर्ताकै क्रममा उनीहरु निर्विरोध निर्वाचित भएपनि मतदान भएका पदको मतपरिणाम घोषणासँगै विजयको घोषणा भएको हो ।

यस्तै प्रदेश नं. १ बाट निर्वाचित हुने खुल्लातर्फ ६ जना केन्द्रीय सदस्यमा सर्वाधिक मत पाई पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य वसन्तकुमार नेम्वाङ केन्द्रीय सदस्य विजयी भए । नेम्वाङले १९१० मत प्राप्त गरे । नेम्वाङ पहिलो पटक एमालेको केन्द्रीय सदस्य बनेका हुन् । यद्यपि यसअघि उनले एमालेको प्रदेश कमिटी सदस्य, केन्द्रीय उर्जा विभागको सचिव, एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य लगायत जिम्मेवारी वहन गरि सकेका छन् ।

यस्तै केन्द्रीय सदस्यमा खुल्ला कोटाबाट निर्वाचित हुने ९९ जना केन्द्रीय सदस्यमा श्रीप्रसाद जबेगू निर्वाचित भए । उनले १३४४ मत प्राप्त गरी विजयी भएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले घोषणा गरे । जबेगूले यसअघि एमालेको प्रदेश कमिटी सदस्य, नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य लगायत जिम्मेवारीहरु वहन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार