इलाम : किरातीहरुको महान् चाड उधौली (चासोक तङनाम) २०७८ को अवसरमा इलामको बिब्ल्याँटेमा स्व. धनबहादुर नेम्बाङ (इमानसिंह) स्मृति खुल्ला नबआउट फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।
बिब्ल्याँटे खेलमैदानमा २५ मंसिरदेखि २ पुससम्म प्रतियोगिता सञ्चालन गरिने सोमबार सदरमुकाममा पत्रकार भेटघाट गरी आयोजक हेलिबोध फुटबल क्लबले जानकारी दिएको छ ।
क्लबका सदस्य समेत रहेका फुटबल खेलाडी धनबहादुर नेम्बाङ (इमानसिंह) को स्मृतिमा संचालन हने प्रतियोगिताको सम्पूर्ण खर्च स्वर्गीय नेम्बाङको परिवारले व्यहोर्ने नेम्बाङकी धर्मपत्नी गीता तुम्बापोले जानकारी दिइन् ।
प्रतियोगितामा जिल्लाभित्रका विभिन्न १६ वटा फुटबल टिमको सहभागिता रहने आयोजक हेलिबोध फुटबल क्लबका अध्यक्ष पूर्ण फत्रले जानकारी दिए ।
प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडीलगायतलाई पनि नगद १ हजारबाट सम्मान गरिने छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब १ लाख २० हजार रुपैयाँ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष फत्रले बताए ।
इलाम नगरपालिका ५ निवासी धनबहादुर नेम्बाङ (इमानसिंह) को ३४ वर्षको उमेरमा २०७७ मा कोरोना संक्रमणबाट निधन भएको थियो । बैदेशिक रोजगारका शिलशिलामा दक्षिण कोरिया गएका नेम्बाङको मिर्गौलामा समस्या देखिएपछि ३ वर्षपछि स्वदेश फर्किएका थिए ।
नेम्बाङले खेलकुद क्षेत्रमा पुर्याएको योगदानलाई सम्मानस्वरुप प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । यसैबीच राष्ट्रिय कलाकारहरुको उपस्थतितीमा ४ पुसमा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाको छ ।