एमाले महाधिवेशन : मुख्य तीन पदमा सहमति गर्न धौधौ

  नयाँ बुलन्द
140 Shares

 

सौराहा: विधान महाधिवेशनबाट पारित गरेको विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाए पनि नेकपा एमालेको महाधिवेशनमा मुख्य तीन पदमा सहमति जुटाउन सकस भएको छ ।

चितवनको सौराहमा एमाले १० औँ महाधिवेशनको बन्द सत्र शनिबार सुरु हुँदैछ । नयाँ नेतृत्व चयन गर्ने बन्द सत्र सुरु हुँदै गर्दा नेतृत्वमा सहमतिको प्रयास जारी छ ।

तर अध्यक्ष, वरिष्ठ उपाध्यक्ष तथा महासचिवमा भने सहमति जुट्ने देखिएको छैन । अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध उम्मेवारी दिने घोषणा गरेका नेता भीम रावलले आफू पछि नहट्ने बताएका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङले दाबी गरिरहेका छन् । उनीहरु दुवै पछि हटेका छैनन् । यस्तै महासचिवमा शंकर पोखरेल र विष्णु पौडेलको दाबी छ, उनीहरु पनि आफ्नो दाबीबाट पछि हटेका छैनन् ।

मुख्य पदमा सहमतिको प्रयास भए पनि कठिन देखिएको छ । नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने तथा आकांक्षीहरुलाई सक्दो समेट्ने उद्देश्यले एमालेले दुई महिनाअघिको विधान महाधिवेशनको औचित्यमाथि नै गम्भीर प्रश्न उठ्ने गरी विधानका विभिन्न व्यवस्था तोडमोड गरेको छ। तर पनि बन्दसत्रमा नेतृत्व चयन प्रक्रिया सहज भने हुने देखिएको छैन।

शुक्रबार राति सौराहमा बसेको नवौँ केन्द्रीय कमिटीको अन्तिम बैठकमा महासचिव ईश्वर पोखरेलले केन्द्रीय सदस्यको संख्या ३०१, पदाधिकारी १९ र पोलिटब्युरो थप्न प्रस्ताव पेश गरेका थिए।

पार्टीभित्र अनौपचारिक छलफलपछि पेश गरिएको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले पारित गरेको थियो। उक्त प्रस्तावलाई शनिबारदेखि सुरु हुने बन्दसत्रले अनुमोदन गरेपछि नेतृत्व चयन हुनेछ।

यसअघि विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारीसहित एमाले केन्द्रीय कमिटीको आकार २२५ सदस्यीय बनाएको थियो।

केन्द्रीय कमिटीले पेश गरेको नयाँ प्रस्तावअनुसार पदाधिकारीमा एक अध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन् ।

असोजमा पारित विधानमा एक अध्यक्ष, वरिष्ठसहित पाँच उपाध्यक्ष, एकएक महासचिव र उपमहासचिव तथा सचिव सातसहित १५ सदस्यीय पदाधिकारी बनाइएको थियो। त्यस्तै हटाइएको पोलिटब्युरोलाई पुनः स्थापित गर्दै केन्द्रीय सदस्यको एकतिहाइ अर्थात ९९ जना हुने प्रस्ताव पारित गरेको छ।देश सचार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार