वर्षाका कारण स्थगित कांग्रेस इलामको मतदान पुन: सुचारु

इलाम : वर्षाका कारण स्थगित भएको नेपाली कांग्रेस इलामको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया पुन: सुचारु भएको छ ।

मतदानकै क्रममा वर्षा सुरु भएपछि केही समय मतदान स्थगित गरिएको थियो । वर्षा रोकिएपछि भर्खरै पुन: मतदान प्रक्रिया सुरु भएको नेपाली कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस जिल्ला कार्य समितिको सभापतिसहित सात पदाधिकारीसहित जिल्ला सदस्य छनोटका लागि महेन्द्र रत्न बहुमुखी क्याम्पसमा मतदान जारी छ ।

कांग्रेस निर्वाचनमा एक हजार सात सय ९५ मतदाता छन् । तीमध्ये करिब एक हजार जनाले मतदान गरिसकेको निर्वाचन समितिकी सदस्य सविता पाण्डेले जानकारी दिइन् ।

कांग्रेस इलामको सभापतिका लागि भेषराज आचार्य र डम्बर खड्का चुनावी मैदानमा उत्रिएका छन् । आचार्य रामचन्द्र पौडेल निकट र खड्का प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा निकट हुन् ।

खड्कालाई वर्तमान सभापति हिमालय कर्माचार्य र पूर्व सभापति केशव थापाको समेत समर्थन छ ।

पदाधिकारीमा समेत प्यानलअनुसार नै प्रतिष्पर्धा हुँदैछ । दुई उपसभापति पदका लागि चार जना चुनावी मैदानमा छन् । आर्चायको प्यानलबाट खगेन्द्र देवान र बिष्णुकुमारी लिम्बू दाहाल तथा कर्माचार्य-खड्का-थापा प्यानलबाट केदार थापा र होमप्रसाद दुलाल चुनावी मैदानमा छन् ।

दुई सचिव पदका लागि पाँच जना चुनावी मैदानमा छन् । आचार्यको प्यानलबाट पूर्णप्रसाद गौतम र विष्णु हेमकुमार कार्की चुनावी मैदानमा छन् । कर्माचार्य-थापा-खड्का प्यानलबाट वर्तमान सचिव निरोज खड्की, हुकुमलाल र स्वतन्त्र उम्मेद्वार दीपक त्रिखत्री चुनावी मैदानमा छन् ।

त्यस्तै दुई सहसचिव पदका लागि समेत चार जनाबीच नै प्रतिष्पर्धा हुँदैछ । सहसचिव पदमा आचार्य प्यानलबाट चक्र येक्तेन (अभिषेक) र देवेन्द्रकुमार सुवेदी तथा कर्माचार्य-थापा-खड्का प्यानलबाट प्रविना राई, र डालाकुमारी कार्की चुनावी मैदानमा छन् ।

मतगणना समेत शुक्रबार साँझदेखि हुने निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार