इलाम कांग्रेस निर्वाचन : कर्माचार्य र थापाको समर्थन खड्कालाई, कार्यकर्ताले नमान्ने

कर्माचार्य र थापा समूहका कार्यकर्ताले आचार्यलाई मत दिने

इलाम : नेपाली कांग्रेस इलामको नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन हुँदैछ । सभापतिसहित, उपसभापति, सचिव, सहसचिव र कार्यसमिति सदस्यमा समेत निर्वाचन हुँदैछ । सभापति पदका लागि भेषराज आचार्य र डम्बर खड्काको प्यानलबीच प्रतिष्पर्धा हुँदैछ । आचार्य संस्थापन इतरका उम्मेद्वार हुन् भने खड्का संस्थापन पक्षका उम्मेद्वार हुन् ।

तर, जिल्लामा यसपटक अनौठो गठनबन्धन भएको छ । संस्थापन इतरका वर्तमान सभापति हिमालय कर्माचार्य र संस्थापन पक्षका पूर्व सभापति केशव थापाले खड्कालाई सहयोग गर्न भएका छन् । उनीहरुले साझा उम्मेद्वार बनाएर खड्कालाई जिताउन आफ्ना गुटका नेता कार्यकर्ताहरुलाई आह्वान समेत गरेका छन् ।

तर कार्यकर्ताहरुले भने कर्माचार्य र थापाको सो निर्देशन नमान्ने भएका छन् । उनीहरुले खड्कालाई मत नदिने भएका छन् । आचार्यलाई मत दिने बताउँदै आचार्यको प्यानलबाट उम्मेद्वजार समेत बनेका छन् । यसअघिका कर्मचार्य समूहका युवा नेता देवेन्द्र सुवेदी आचार्य समूहबाट सहसचिवमा उम्मेद्वार बनेका छन् । अन्य अधिकाशं नेता तथा कार्यकर्ताहरुले खड्कालाई सहयोग गर्न कर्माचार्य र थापाले दिएको निर्देशन नमान्ने बताएका छन् ।

‘नेताले जे जे भन्यो त्यही मान्ने हामी उहाँहरुका गोठालो होइनौं’ नाम उल्लेख नगर्ने शर्तमा पूर्व थापा समूहका एक नेताले भने, ‘पार्टी जोगाउनकै लागि भएपनि हामी विवेक प्रयोग गर्छौं । सक्षम र सबल नेतृत्व चुन्नेछौं ।’

कर्माचार्य र थापाले आफू नेतृत्व हत्याउन नसक्ने अवस्था आएपछि अर्को गुटलाई सुम्पने कार्यशैलीप्रति उनीहरुका गुटकै कार्यकर्ताहरु आक्रोशित बनेका छन् । वर्तमान सभापति र पूर्व सभापतिको यस्तो कार्यशैलीले गुट मात्र नभइ पार्टी नै सिध्यिने स्थिति आएको भन्दै पार्टी जोगाउन आर्चायलाई मत दिने बताएका छन् । ‘अहिले आएर हामीलाई यसरी भड्खालोमा पार्ने काम भयो । यो कार्यशैलीले हामीले नेता मानेको हिमालय कर्माचार्य आफू मात्र सिद्धिएनन्, हामीलाई पनि सिद्ध्याउने खेल देखियो’ पूर्व कर्मचार्य समूहका एक कार्यकर्ताले भने, ‘नेताले मुख जोडाउँदैमा हामी मान्दैनौं । अब हाम्रो उम्मेद्वार भेषराज आचार्य हो । हामी उहाँलाई जिताउँनेछौं ।

अन्य पदाधिकारीमा समेत प्यानलअनुसार नै चुनाव हुने भएको छ । दुई उपसभापति पदका लागि चार जना चुनावी मैदानमा छन् । आर्चायको प्यानलबाट खगेन्द्र देवान र बिष्णुकुमारी लिम्बू दाहाल तथा कर्माचार्य-खड्का-थापा प्यानलबाट केदार थापा र होमप्रसाद दुलाल चुनावी मैदानमा छन् ।

दुई सचिव पदका लागि पाँच जना चुनावी मैदानमा छन् । आचार्यको प्यानलबाट पूर्णप्रसाद गौतम र विष्णु हेमकुमार कार्की चुनावी मैदानमा छन् । कर्माचार्य-थापा-खड्का प्यानलबाट वर्तमान सचिव निरोज खड्की, हुकुमलाल र स्वतन्त्र उम्मेद्वार दीपक त्रिखत्री चुनावी मैदानमा छन् ।

त्यस्तै दुई सहसचिव पदका लागि समेत चार जनाबीच नै प्रतिष्पर्धा हुँदैछ । सहसचिव पदमा आचार्य प्यानलबाट चक्र येक्तेन (अभिषेक) र देवेन्द्रकुमार सुवेदी तथा कर्माचार्य-थापा-खड्का प्यानलबाट प्रविना राई, र डालाकुमारी कार्की चुनावी मैदानमा छन् ।

मतगणना समेत शुक्रबार साँझदेखि मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार