किवीफलको उचित मुल्य नपाएको कृषकको गुनासो

  युद्धबहादुर बोहोरा
602 Shares

 

पाँचथरः यसअघि महंगो मुल्यमा हारालुछ बिक्रि हुँदै गरेको किवीफल पछिल्ला दिनमा दिनहँ मुल्य ओरालो लाग्न थालेपछि कृषक चिन्तित भएका छन् ।

कार्तिक महिनादेखि टिप्न शुरु गरिएको किवीफल आजभोलि ए ग्रेडको प्रति किलोग्राम एक सय र बी ग्रेडको ७० रुपैंया मात्रैले बिक्री हुने गरेको फाल्गुनन्द गाँउपालिकामा संचालित माहाभारा किवी उत्पादक कृषि समुहका संयोजक केबी चेम्जोङले बताए । यस पालिका भित्र चुना तथा कृषक समुह,बेलि गुराँस उद्यमी कृषि तथा पशुपंक्षी, नागवेली लघु उद्यम किवी उत्पादन समुह,ज्योति बहुदेश्यी कृषि फर्म लगायतका कृषि समुहले करिब दुई हजार रोपनी जग्गामा किवी खेती गरेर १० टन भन्दा बढी किवी उत्पादन गर्दै आएको छन् ।

पहिले भन्दा हाल धेरै उत्पादन बढेको तर बजारीकरणको व्यवस्था राम्रो नहुँदा उचित मुल्यमा बिक्री गर्न नपाइएको उनले गुनासो गरे । हरेक ठाउँमा किवी फलको माग बढेसंगै राम्रो मुल्य पाउने आसामा पाँचथरको फाल्गुनन्दमा अनगिन्ति किसानले किवीफलको खेती गरेका छन् । दिर्घकालीन रुपमा व्यावसाय गर्ने उदेश्यले अन्य बाली मासेर लगाइएको किवी पनि राम्रो भाउमा बिक्री नहुँदा किसान दोधारमा छन् ।

फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ५ का कृषकले मात्रै ५२ क्वीन्टल भन्दा बढी निजी लगानीमा किवी उत्पादन गरेता पनि हालसम्म पालिकाको सम्बन्धित शाखाले  कृषकलाई प्रोत्साह नगरेको उनीहरुको गुनासो छ । ब्लक स्थापना,खेती सुधार,बजारीकरणको व्यवस्था,किसानलाई अनुदानको प्रबन्ध मिलाउन शाखा मार्फत पहल नहुँदा किसानमा निरासा छाएको संयोजक चेम्जोङले दुखेसो पोखे । थोरै उत्पादन हुँदा प्रतिकिलो दुई सय रुपैया सम्ममा स्थानीय बजारहरू रवि,सप्तमी,यासोक,घुर्बिसे पञ्चमी,राँके,फिदिम,इलाम क्षेत्रमा खपत हुने गर्दथ्यो । अहिले उत्पादन बृद्धिसंगै धेरै चुनौती व्यहोर्नु परेको नागवेली लघु उद्यम किवी उत्पादन समुह अध्यक्ष राजेन्द्र नेम्बाङको भनाइ छ ।

यता व्यापारीले भने, कोरोना महामारीले शिथिल भएको व्यावसाय धान्न मुस्किल परेको र टाढाका पर्यटक नआएका कारण पहिले जस्तो महंगो दाममा बिक्रि गर्न नसकिएको मेची राजमार्ग स्थित राँकेका स्थानीय व्यापारीहरु बताउँछन् ।

संसारको फल मध्ये राजा फल भनेर चिनिने किवीफल स्वास्थ्यको लागि निक्कै लाभदायक मानिएको छ । नियमित सेवनले मुटुको रोग,दम,क्यान्सर,अल्सर,आँखा र छाला सम्बन्धि रोगको उपचारमा समेत सहयोग पुर्याउने चिकित्सकले बताएका छन् । करिव १२ सयदेखि २४ सय मिटर उचाइको जमिनमा रोप्न सकिने यो फलको खेती गर्न पूर्वी पहाडी जिल्ला इलाम,पाँचथर,तेह्रथुम लगायतमा केही वर्ष यता आकर्षण बढेको छ .।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार