देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसको असन्तुष्ट पक्षले गर्‍यो प्रदर्शन

  नयाँ बुलन्द
126 Shares

इलामः विवादबीच डडेल्धुरामा सातौं जिल्ला अधिवेशन गरिएको भन्दै नेपाली कांग्रेस डडेल्धुराको असन्तुष्ट पक्षले मंगलबार विरोध प्रदर्शन गरेको छ ।

जिल्ला अधिवेशन अवैध भएको भन्दै मंगलबार असन्तुष्ट पक्षले मोटरसाइकल र्‍याली निकाल्दै विरोध प्रदर्शन गरेको हो । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सोमबार कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

एकलौटी तवरले भएका सम्पूर्ण अधिवेशन खारेजीको माग गर्दै उनीहरूले, ‘निकम्मा निर्वाचन समिति मुर्दावाद’, ‘तानाशाह मुर्दावाद’, ‘हाम्रो उजुरीमाथि निर्णय गर’, ‘नेपाली कांग्रेस जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।

सोमबारमात्रै कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जिल्लामा जारी अधिवेशन अवैध भएको दाबी गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दर्ता गराएका थिए ।

सभापति मल्ललगायतका नेता कार्यकर्ता मंसिर १ गतेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा अनशन बसेका छन् । आफ्नो असहमति हुँदाहुँदै अर्को पक्षले एकलौटी अधिवेशन गरेको उनीहरूको आरोप छ ।

यता विरोधका बीच जिल्ला अधिवेशनबाट परशुराम नगरपालिकाका अध्यक्षसमेत रहेका भीमबहादुर साउँद सभापतिमा विजयी भएका छन् ।यस्तै उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी, डिल्लीराज जोशी, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् । यसैगरी सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्वाचित भएका छन् ।-मकालु खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार