किन उत्साहित छन् माधवकुमार नेपाल ?

काठमाडौँ। पार्टी गठन भएको दुई महिनामा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकै उत्साही देखिएका छन् । एमालेबाट असन्तुष्ट रहेका नेताहरूलाई पार्टीमा ल्याउने काम गरिरहेका नेपाल पछिल्ला दिनमा केही उत्साही देखिएका हुन्। त्यही उत्साहका कारण नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढेको बताएका छन्।

सुदूरपश्चिममा भीम रावलले छाडेपछि निराश बनेका नेपाललाई सुदूरपश्चिमकै प्रेम आलेले साथ दिएका थिए। त्यसपछि भानुभक्त जोशी पनि प्रवेश गरेपछि निकै उत्साही बनेका नेपाललाई डडेलधुरा जिल्लाको करिब दुई तिहाइ जिल्ला कमिटीका सदस्यहरूले साथ दिएका थिए। पर्यटन मन्त्री प्रेम आलेले हेलिकोप्टर चढाएर नेपाललाई लिएर डडेलधुरा पुगेका थिए। त्यहाँ उनले लगभग सिङ्गो जिल्ला कमिटीलाई आफ्नो पार्टीमा समावेश गराएका थिए।

शुक्रवार केन्द्रीय कमिटीका एजेन्डा तय गर्न बसेको स्थायी कमिटी बैठकमा पार्टी गठनदेखि अहिलेसम्मको अवस्थाबारे ‘ब्रिफिङ’ गर्दै उनले एमाले पार्टी छाडेर नेकपा एसमा आउनेको लहर चलेको पनि बताउँदै निकै उत्साही भावमा पार्टी छाड्नेको लर्को लागेको र एमालेबाट अझै आउने क्रम जारी रहने बताएका थिए।

नेपालले एमाले छाडेर आउने, अन्य पार्टीबाट प्रवेश गर्ने र सहकार्य गर्न चाहनेहरू बढेको बताए। डडेलधुरामा सिङ्गै जिल्ला कमिटी नेकपा एसमा आएको उदाहरण दिँदै उनले यसले आफूहरूमा उत्साह प्रदान गरेको बताएका थिए। अरू पार्टीले पनि सहकार्यको प्रस्ताव राखेको उनको भनाइ छ। ‘विभिन्न दलले हामीसँग राजनीतिक छलफल गर्नका लागि पनि प्रस्ताव राखेका छन्,’ नेपालले बैठकमा जानकारी गराउँदै भने, ‘कतिपयसँग विभिन्न तहमा छलफल भएका छन्।

उहाँहरू हामीप्रति आकर्षित हुनु भएको छ र सहकार्य गर्न चाहनु भएको छ।’ नेपालले आफ्ना विरुद्ध एमालेले झुटा प्रचार गरिरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न पनि आग्रह गरेका थिए। स्थायी कमिटीको बैठकमा आउनु अघि माधव नेपाल सुनसरी पुगेर आएका थिए। सुनसरीमा एमालेमा ठुलै विवाद रहेको छ। पार्टीको दशौँ महाधिवेशन नजिकिँदै गर्दा सुनसरीमा देखिएको विवादले देशभर एमालेभित्र तरङ्ग उत्पन्न भएको छ ।

त्यसको फाइदा उठाउँदै सुनसरी पुगेका एस पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई इटहरीका मेयर द्वारिकालाल चौधरीले आफ्नै घरमा लगेर खाना खुवाएका थिए। चौधरीले बुधवारको जिल्ला कमिटी बैठकमा माइक खोसेका थिए। पार्टीमा १० बुँदे कार्यान्वयन हुँदा चौधरी जिल्ला अध्यक्ष हुनुपर्नेमा त्यसो नभई विवाद भएपछि उनले केन्द्रीय सदस्य धर्म निरौलाको हातबाट माइक खोसेर बैठक बहिष्कार गरेका थिए। त्यसपछि उनले विज्ञप्ति जारी गरेर पार्टी कम्पनी जस्तो भएको आरोप लगाएका थिए। सुनसरीको विवाद भएपछि माधव नेपाल पूर्व नेपालको भ्रमणका पुग्दा चौधरीकै घरमा बसेका थिए।

त्यति मात्र होइन माधव नेपालको पार्टीमा एमालेमा ३० वर्षभन्दा बढी काम गरेका रामचन्द्र झा पनि प्रवेश गर्ने भएका छन्। केपी ओली प्रवृत्तिको विरुद्ध लड्न माधव नेपाललाई साथ दिन लागेको भन्दै उनी नेकपा एसमा प्रवेश गर्न लागेका हुन् । पटक पटक पार्टी परिवर्तन गर्ने नेता झा  पहिलो संविधान सभा विघटन भएपछि एमालेबाट बिदा भएर माओवादीमा गएका त्यहाँ पनि टिकेनन् । त्यहाँबाट बाबुरामले निर्माण गरेको नयाँ शक्ति पार्टीमा पुगेका थिए।

बाबुराम भट्टराईको नयाँ शक्ति विघटन भएपछि उनी फेरी माओवादीमै फर्केका झा अहिले भने एमालेबाट विभाजन भएको नेकपा (एस)पार्टीले उपाध्यक्ष दिने भएपछि माओवादी परित्याग गरिसकेका छन्। उनी अब केही दिनभित्रै नेकपा एसमा प्रवेश गर्ने तयारीमा छन्। ‘नेकपा (माओवादी केन्द्र) मा नेता तथा पूर्व मन्त्री रामचन्द्र झा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन्’, उनी निकट एक नेताले भने। उनी पहिलो संविधानसभा विघटनपछि एमालेले टिकट नदिने भएपछि झा एमालेबाट माओवादीमा प्रवेश गरेका थिए।

माओवादीका केन्द्रीय सदस्य झाले नेकपा (एस) प्रवेश गर्न लागेको कुरा उनी निकटका नेताहरूलाई बताइसकेका छन्। उनले माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालसँग औपचारिक रूपमा बिदासमेत लिइसकेको भन्दै जनकपुरमा आफू निकट रहेका नेताहरूलाई जानकारी गराएका हुन्।

केपी ओली विरुद्धको लडाइमा सङ्गठित हुन आफू नेकपा एसमा प्रवेश गर्न लागेको बताएका छन्। झा प्रदेश २ मा प्रभाव भएको नेतामा पर्छन्। माओवादीले स्थायी कमिटी सदस्य नबनाएको भन्दै झा असन्तुष्ट थिए। मङ्सिर ४ गते एक कार्यक्रमबीच झा माधव नेपालको पार्टीमा प्रवेश गर्ने भएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार