सोह्रौं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द

  डा. आरजु सुब्बा  105 पटक हेरिएको

युगनिर्माता नेपालमा पनि किरात धर्मदर्शनका दर्शनदाता पुनःसंस्थापक भगवान् रूपी महागुरु फाल्गुनन्द मुहिगुम अङसिमाङको जन्म १९४२, कात्तिक २५ गते आइतबार इलाम जिल्लाको इभाङ चुक्चिनाम्बा डाँडागाउँको चारखोलामा भएको थियो । किरात याक्थुङ लिम्बू जातिमध्य सेत्छेने सेनिहाङ लिडदेन कुलवंशमा सामान्य किसान परिवारका पिता जगनबाज र माता हंसमतीको कोखमा धेरै नानीहरू जन्मदै मर्दै खेर गइरहेकाले पुत्र–पुत्री शोकबाट भाव विहृवल भएका बुबा–मुमाहरू दुःख हैरानीले यो बालक पनि बाँच्दैन होला भन्ने आशंकामा थिए ।

नवशिशु लामो समयसम्म जीवित रहेकाले मायाममताको आशा जागे पनि आमाको स्तनमा खटिरा निस्केकाले आमाको दूधको बदलामा कालो बाख्रोको दूध पिलाएर बचाउने काम भयो । खटिरा नै मृत्युको कारक बनेर यत्तिकैमा केही दिनपछि आमाको देहावसान भई नवशिशु अवस्थामै दीनहीन टुहुरो हुन पुगेको बालकको ज्योतिषनाम नरधोज रहन गयो ।

एकान्तप्रेमी, ध्यानी, ज्ञानी, तपस्वी, शान्ति, दया, अहिंसा र सत्यप्रेमी बालककालको प्रभाव, आहार, विहार, विचार, व्यवहारले ज्ञानको भोकले बैरागिएका फलामसिंहको आत्माज्योतिको पराकाष्ठमा एक दिन बिमारले थला परेर बसेका बालक मध्यरातमा एक्कासि जुरुक्क उठेर दिव्यपुरुषसँग अल्पिनुभएको अदृश्यरूपी सिद्धि शक्तिका संवाहक उनै परामात्मा परमेश्वर तागेरा निङवाभुमाङको प्रत्यक्ष दर्शन इलाम महमाई, बाँझो, इभाङ, दानावारी, जितपुर, यी पाँच गाविसको बीच देवमाई र माई संगमस्थल फुलुंगी दोभान जितपुरको खत्रक्पामा आत्माज्ञान बोध भयो ।

आत्मासाक्षात्कार पाएका बालकको ज्ञान चेतन र दिव्यशक्ति फरक मात्रामा परिवर्तित प्रस्तुतिले ध्यान, ज्ञान, जप, तप, शिक्षा, दीक्षामा एकाएक दैविक रूपान्तर हुँदै साधानले महान योगी तपस्वी, ब्रहृमज्ञानी, माङधक कुधकको रूपमा महाज्ञान महासमाधि ज्ञान प्राप्त गरी सत्याहाङमा सत्यको महाराजले उद्बोधन हुनभई सत्यहाङमा साधु संज्ञाले सम्बोधित हुनुभयो । आत्माज्ञानपश्चात् करुणामयी शंखनादले शंखघोष गर्दै विश्व चराचर जगत्का पशुप्राणी, जीवरक्षा र विश्वशान्ति तथा मानव एकताको सन्देश माङइङघङ महावाणी दिनुभयो ।

संयोगवंश पल्टनिया दाजु भेट्न गएका फलामसिंहलाई ललाइफकाई भारतीय ब्रिटिश सेनामा भर्ना गराई सन् १९१४ पहिलो विश्वयुद्धमा होमी ध्यानी हवल्दारसम्म हुनुभएको पल्टन परित्याग गरी देश समाज र मूलतः किरात जनजातिहरूको हराइरहेको मुन्धुम, धर्म, भाषा, लिपि, संस्कार, इतिहासको खोज, संकलन, अनुसन्धानमा आजीवन चिन्तन मनन गरी लाग्नुभयो । लडाइँमा बन्दुक दुश्मनपक्षलाई नहानी आकाश वा पातालमा मात्र गोली हान्न आदेश दिने फाल्गुनन्दको अहिंसाप्रतिको देन, विशिष्टता कतिको उचाइ वा शिखरमा थियो भन्ने उहाँको यस स्वभावले स्वतः स्पष्ट हुन्छ ।

तीर्थभूमि फक्ताङलुङ हो भने जन्मभूमि चुक्चिनाम्बा, ज्ञानभूमि फुलुङगी खत्रक्पा भएर पनि कर्मभूमि पाँचथरको लोब्रे र सिलौटी क्षेत्रलाई उपयोगमा ल्याउन विसं १९८८ वैशाख २४ गते, १७ थुम १० लिम्बुवानको बृहत् किरात चुम्लुङ गरी सात बुँदे लिखित सत्यधर्म मुचुल्का खडा गरी जन्ममा न्वारन, यौवनमा विवाह, मरणमा अत्येष्टि, सेवामा बलिपूजा निषेध, आहारमा मदमांस प्रतिबन्ध, छोरीचेलीको सोतरित नलिने, स्त्री–जातिमा रजस्वला पानी बार्ने, माङहिम र निसामहिम विद्यालय बनाउने, संस्कारगत संस्कृति पालना गर्ने, काजक्रिया बार्ने, सुतक–मृतक बार्ने, शुद्ध पिण्डमात्र चढाउने आदि मानवजीवनमा वरण गरिने सम्पूर्ण कर्म संस्कारहरूको समयसापेक्ष एकीकृत गराई तत्कालीन राणा शासनकालमा एउटा पृथक सामाजिक क्रान्तिस्वरूप महान् कार्य गर्नुभयो ।

सोही ठाउँमा विश्व शान्ति तथा मानव एकताका प्रतीक त्रिशूल रोप्ने, यज्ञमण्डप निर्माण गरी सिलौटीको नाम्फुनयक माङहिम, साङसेनवरक माङहिम लोब्रे र १७ थुम गोश्वारी माङहिम यही हातामा स्थापना गर्नुभयो । मानव तथा किरात एकताका प्रतीकरूपी त्रिशूल गाड्नु भएको अलौकिक शक्तिबिम्ब यही सिलौटी कुटीमा अद्यावधि सत्य अस्त्र प्रमाणित छँदै छ ।

आचरणमा सत्य आहार, सत्य विहार, सत्य विचार र सत्य व्यवहारका धनी फाल्गुनन्द एकाएक दालभात, तरकारी, सुकेको खुर्सानी छेडाएर नुन लगाई भुटेको, सागसब्जी, सिस्नु, जाउलोभन्दा मकैको खाना, शुद्ध नुन नभएको मौकामा काँचो नुनलाई पातमा पोको पारी बन्द गरी आगाको भुंग्रेमा लगाई डल्लो ढुट्याएरमात्र खाने, मरिच कडा गरी चिया प्रशस्त पिउनुहुन्थ्यो । दूध, दही नखाने कहिलेकाहीँ दुई छाक खाना, माङ चढेको बेला त केही खानुहुन्थ्यो । बिहान, दिउँसो, बेलुकी तीन पटक सेवा, जप, तप, ध्यान, ज्ञान निरन्तरता, शिक्षा, दीक्षा, धर्माेपदेश सादा जीवन उहाँका ब्रहृमचर्य आचरणहरू हुन् ।

महातपस्वी शान्ति र अहिंसाको पूजारी महागुरु फाल्गुनन्दको उल्लेख्य क्रियाकलापको विमति राख्ने षड्यन्त्रकारीहरूले विसं १९९० र १९९५ मा दुई-दुई पटक देशद्रोह र राजद्रोहको अभियोग लगाई फाँसीमा लड्काउने तथा आजीवन कारोवास सजाय दिनसमेत कुचेष्टा गरेका थिए । चेतनदाता, ज्ञानदाता र मुक्तिदाताले सातवटा मन्दिर, सात बुँदे निर्णय, सात सूत्र तत्वमा सुन, चाँदी, तिल, जौ, कुश, दुबो, ढुंगो साथै ४६÷५० विधाका साम्जिक मुन्धुम संहिता कृत गरी आजीवन ब्रहृमचार्य व्रतमा रहने महान् दार्शनिक महागुरु फाल्गुनन्दको ६३ वर्ष ४ महिना २७ दिनको उमेरमा २००५ चैत २२ गते सोमबार मध्यान्तरमा पाँचथर याम्बोङको हाङयकमा मरणविन्दु खेलबाट परमधाम हुनुभए पनि देह नश्वरमात्र विसर्जन भएको तर बाँकी परमेश्वर आत्मा यही लोकमा सर्वकालीन, सर्वयुगीन, सर्वव्यापी भएर रहेको छ ।

त्यसैले उहाँ अमर विभूति रहनुभएको छ । उहाँको मूर्ति यासोक, फिदिम, लोब्रे, इवा, माङसेबुङ, दमकलगायत स्वदेश विदेशमा असंख्य स्थापना र हुलाक टिकट प्रकाशन, नेपाली पाठ्यक्रममा अध्ययन अध्यापन, फाल्गुनन्द धर्म मार्ग नामकरण, ८,०७१६९, जनाले जनगणनामा किरात धर्म लेख्न र नेपाल सरकारले २०६६ साल मंसिर १६ गते १६औं राष्ट्रिय विभूति तथा २०७२ मंसिर ३ गते उहाँको जन्मदिन सार्वजनिक बिदा दिने घोषणा गरी राज्यले सम्मान दिएको छ । महागुरु फाल्गुनन्दको १३७औं जन्मजयन्तीले जलशान्ति, थलशान्ति, अग्निशान्ति, वायुशान्ति, आकाश शान्ति, विश्व ब्रहृमाण्ड शान्ति, मानव शान्ति, सम्पूर्ण चराचर जीव पशुप्राणी शान्तिले मंगलमय शुभकामना परमात्मा परमेश्वर तागेरा निङवाभुमाङमा प्रार्थना गर्दछु ।

(सुब्बा विश्व किरात नारी संघ सहअध्यक्ष हुनुहुन्छ ।) 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार