इलाम : पेट्रलियम पदार्थ लगायतमा भइरहेको मूल्यवृद्धिका विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कार्तिक ३० गते नेपाल बन्द आह्वान गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गरेर नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग समेत गरेका छन् ।
विज्ञप्तिमा कार्तिक २५ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । जसअन्तर्गत आज बिहीबार ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ गते प्रचार/प्रसार र साँझ मशाल जुलुस, २७ गते दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा देशव्यापी प्रदर्शन गर्ने उल्लेख छ ।
त्यस्तै कार्तिक २८ गते बिहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा चक्काजाम, २९ गते दिउँसो सिट्ठी जुलु र साँझ मशाल जुलुस गर्ने जनाएको नेकपाले ३० गते नेपाल बन्दको आह्वान गरेको हो ।
नेकपाले विज्ञप्तिमार्फत हाल गरिएको मूल्यवृद्धिलाई जनतामाथिको अन्यायपूर्ण उत्पीडन भनेको छ । साथै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले समग्र क्षेत्रमा असर पार्ने दावी गरेको छ ।