इलाम नगरपालिकामा रहेको आयुर्वेद औषधालयमा औषधिको अभाव


इलाम : इलाम नगरपालिकामा रहेको आयुर्वेद औषधालयमा औषधिको अभाव भएको छ । पछिल्लो समय रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेदिक औषधि अत्यन्त उपयोगी मानिएको छ । साथै यसको उपचार गराउने बिरामीको संख्या वृद्धि भएपनि औषधि अभावले स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ ।

इलाम नगरपालिकाको आयुर्वेद औषधालयमा उपचार तथा परामर्श लिनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । कोरोनाको जोखिम हुन नदिन तथा उपचारमा समेत आयुर्वेदिक औषधिको प्रयोगमा सर्वसाधारणको औषधालयप्रति आकर्षण बढेको हो । तर अहिले आवश्यकता अनुसार सेवाग्राहीलाई औषधि उपलब्ध गराउन नसकिएको इलाम आयुर्वेद औषधालयका प्रमुख लालदेव मण्डलले बताउनुभयो ।

औषधालयमा आर्थिक वर्ष २०७६/०७७ मा १८ सय ७ जनाले सेवा लिएको गत आर्थिक वर्ष २०७७/०७८ मा त्यो संख्या १२ सयले बढेर ३ हजार ६० पुगेको छ । औषधालयमा बालबालिकादेखि वृद्धवृद्धा उपचारका लागि आउने गरेपनि औषधालयको स्टोर अहिले खाली छ ।

आयुर्वेद औषधालय विभागबाट इलाम आयुर्वेद औषधालयलाई वार्षिक ३० देखि ३४ लाख रुपैयाँसम्म बजेट विनियोजन हुने गरेको छ । बजेट इलाम नगरपालिकामार्फत उपलब्ध गराइँदै आएको छ । यो बजेटबाटै कर्मचारीको तलब भत्तादेखि कार्यालय सञ्चालन, औषधि खरीद र अन्य कार्यक्रम सञ्चालन गर्दा बजेट कम हुने गरेको छ ।

इलाम नगरपालिकाले आफनो आन्तरीक श्रोतबाट बजेट उपलब्ध नगराउँदा औषधालय सञ्चालनमा कठिनाइ देखिएको छ । औषधालयले उपलब्ध गराउने नि:शुल्क औषधि नपाउँदा महंगो मूल्य तिरेर अन्यत्र औषधि खरीद गर्नु परेको सेवाग्राही बताउँछन् ।

हाल विभागबाट आउने बजेट समेत आइनसक्दा औषधि खरीद गर्न नसकेकाले स्टोर अहिले रित्तो भएको औषधालयले जनाएको छ । औषधालयबाट नियमित आयुर्वेदिक औषधि लिएर सेवन गरीरहेका करीब डेढसय बिरामीले विगत ४ महिनादेखि औषधि पाउन सकेका छैनन् ।

आयुर्वेद औषधालयमा २३ प्रकारका औषधि पाउनु पर्ने भए पनि औषधालयमा भने एक प्रकारको औषधि पनि नहुँदा सेवाग्राही प्रभावित भएका छन् । यता इलाम नगरपालिकाका सूचना अधिकारी रामकुमार शाह भने विभागबाट प्राप्त भएको बजेट नगरपालिका मार्फत नै उपलब्ध हुने बताउनुहुन्छ ।

औषधालयले ज्येष्ठ नागरिक लगायतलाई स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गर्दै आएको छ । औषाधलयमा हाल फिजियोथेरापी सेवा भने सञ्चालनमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार