चार दिनदेखि बेपत्ता माङसेबुङका दुई स्वास्थ्यकर्मी अझै भेटिएनन्

  राम योङहाङ/बालकृष्ण बस्‍नेत  1692 पटक हेरिएको

माङसेबुङ : विगत चार दिनदेखि बेपत्ता भएका इलामको माङसेबुङ गाउँपालिका दुई जना स्वास्थ्यकर्मी अझै भेटिएका छैनन् ।

माङसेबुङ गाउँपालिका वडा नम्बर ६ स्थित बाँझो स्वास्थ्य चौकीका इन्चार्ज ठाकुरप्रसाद याक्खा र सोही स्वास्थ्य चौकीमा कार्यरत अर्का स्वास्थ्यकर्मी सुमन राईलाई यो समाचार तयार पर्दासम्म भेटिएका छैनन् ।

सुरक्षाकर्मी र स्थानीय बासिन्दाले संकाश्पद क्षेत्रमा तीन दिनदेखि लगातार खोजतलाज गरिरहेको भएपनि हालसम्म फेला पार्न नसकिएको खोजतलासमा संलग्न मध्येका एक माङसेबुङ २ का वडाअध्यक्ष पुष्पराज कार्कीले नयाँ बुलन्दलाई जानकारी दिए ।

याक्खा र राई गएको मंगलबार बेलुकादेखि सम्पर्कविहीन बनेका थिए । इलामको माङसेबुङ गाउँपालिका र पाँचथरको मिक्लाजुङ गाउँपालिका ५ कुरुम्बाको संगम स्थल चिसोपानी पंचमी बजार नजिकैबाट मंगलबार दिउँसो करिब ४ बजेदेखि बेपत्ता भएका थिए ।

मिक्लाजुङ गाउँपालिका ५ कुरुम्बामा पहिरोमा परी घाइते भएका एक व्यक्तिको उपचार गर्न गएका उनीहरु न घाइतेकहाँ पुगे, न त घरमा नै फर्के । उनीहरु बिचैबाट वेपत्ता भए । घाइतेको परिवारले बोलाएपछि उनीहरु उपचारका लागि घटनास्थल प्रस्थान गरेका थिए । तर, घरबाट हिँडेको केही मिनेटपछि नै उनीहरु सम्पर्कविहीन बनेका थिए ।

बेपत्ता भएदेखि नै उनीहरुको खोजीकार्य जारी छ । नजिकै पहिरो गएको ठाउँ भेटिएकाले सोही पहिरोलाई लक्षित गरी खोजीकार्य तीब्रा पारिएको थियो । तर त्यहाँबाट उनीहरुले प्रयोग गर्ने गरेका दुई थान छाता मात्र भेटिएको थियो । भीषण वर्षाको समय भएको र उनीहरुको छाता समेत त्यहीँ पहिरोमा भेटिएकाले सोही पहिरोले पुरिएको हुनसक्ने अनुमानका साथ खोजीकार्य गरिएको छ । तर हालसम्म फेला पर्न सकेको छैन ।

इलाम नगरपालिकाको सुम्बेक घर भएका याक्खा र माङसबेुङ गाउँपालिका २ इभाङको दहगाउँ घर भएका राई साइनोमा साढुदाई र साढुभाई हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार