कांग्रेस महाधिवेशन एक महिना पछि सर्ने सम्भावना

कांग्रेस महाधिवेशन एक महिना पछि सर्ने सम्भावना

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति पुनः सर्ने सम्भावना बढेको छ । आगामी मंसिर ९ गतेबाट हुने तय भएको महाधिवेशनका लागि केही जिल्लाको क्रियाशील सदस्यता सूची अझै टुंगिएको छैन । पछिल्लो पटक बारा जिल्लाको सदस्यता बिहीबार मात्रै जारी भएको छ । शुक्रबारसम्म रसुवा र धनुषाको सदस्यता जारी गर्ने बताइएको छ । तर, १३ जिल्लाबाहेक अरू जिल्लाहरूको अधिवेशन हुन सकेको छैन । हिमाली क्षेत्रका जिल्ला भनी प्राथमिकतामा परेका २२ जिल्लाहरूमध्ये नौ जिल्लाको अधिवेशन भएको छैन भने संघीय निर्वाचन क्षेत्र एकल भएका जिल्लाहरूमा समेत केहीमा मात्र पालिका अधिवेशन र निर्वाचन भएर रोकिएको अवस्था छ । अझै पनि धनुषा र रसुवाको सदस्यता जारी भएको छैन ।

५५ जिल्लामा स्थानीय तहदेखि नै अधिवेशन गरेर नेतृत्व चयन गरेपछि प्रदेश अधिवेशन र संघीय अधिवेशन गर्ने कार्यतालिका छ । केन्द्रीय महाधिवेशनका लागि आवश्यक अन्य कुनै पनि तयारी अहिलेसम्म भएको छैन । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, पाँच वर्षको कार्य प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तयार गर्न कम्तीमा पनि एक÷डेढ महिना लाग्छ । प्रतिवेदन तयारीपश्चात् केन्द्रीय समितिले अनुमोदन नगरी ती कुनै पनि प्रस्ताव महाधिवेशनमा प्रस्तुत हुने छैनन् । यसका अतिरिक्त महाधिवेशन मूल तयारी समिति, स्वागत समिति, आवास तथा भोजन व्यवस्थापन समिति, प्रचारप्रचार समितिहरूको कुनै अत्तोपत्तो छैन । परिणामस्वरूप महाधिवेशनको मिति पर धकेलिनु अनिवार्य हुन पुगेको छ ।

‘राजधानीमा करिब पाँच हजार प्रतिनिधिका लागि सभाकक्ष, आवास, भोजन व्यवस्थाको प्रबन्ध अनिवार्य छ । जिल्ला वा प्रदेश प्रतिनिधिहरूलाई स्वतन्त्र रूपमा आवास व्यवस्था गर्न पार्टीले दिने हो भने कांग्रेसको महाधिवेशन महाभिडको भेलामा परिणत हुने सम्भावना छ’ हिमालय टाइम्ससँग एकजना प्रतिनिधिले समस्या प्रस्तुत गर्दै भन्नुभयो ।

पार्टी नेतृत्वका लागि उम्मेदवारी दिन खोज्नेहरू पनि सम्भवतः आफ्ना सदस्य मतदातासमक्ष पुग्न, परिचय गर्न र आफ्नो विचार प्रस्तुत गर्ने समय पर्याप्त होस् भन्ने चाहना राख्न सक्छन् । ‘पार्टीमा मिति परिवर्तन गर्ने र कमसेकम एक महिनाा पर सार्ने विषयमा कांग्रेस केन्द्रीय समितिमा पनि असहमति हुने छैन होला’, कांग्रेस केन्द्रीय सदस्यका एकजना दाबेदारले भन्नुभयो । तर, पार्टीले औपचारिक धारणा भने बनाइसकेको छैन । महाधिवेशनका विषयमा दीपावली पहिले नै पार्टी केन्द्रीय समितिको बैठक वस्ने सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार