माङसेबुङ : पहिरोमा परी घाइते भएकाहरुको उपचार गर्न गएका माङसेबुङका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् ।
इलामको माङसेबुङ गाउँपालिका र पाँचथरको मिक्लाजुङ गाउँपालिको संगमस्थल चिसोपानी पन्चमी बजारबाट मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ कुरुम्बामा पहिरोमा परी घाइते भएकाको उपचारका लागि गएका स्वास्थ्यकर्मी ठाकुरप्रसाद याक्खा र सुमन राई बेपत्ता भएका हुन् ।
याक्खा र राई दुवै माङसेबुङ-६ स्थित बाँझो स्वास्थ्य चौकीमा कार्यरत थिए । मंगलबार साँझ उपचारका लागि घाइतेको परिवारले बोलाएपछि उनीहरु उपचारका लागि घटनास्थल प्रस्थान गरेका थिए । तर, घरबाट हिँडेको ५ मिनेटपछि नै उनीहरु सम्पर्कविहीन भएका हुन् ।
नजिकै पहिरो गएको ठाउँ भएकाले सोही पहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुको खोजीकार्य जारीरहेको छ । तर हालसम्म फेला पर्न सकेको छैन । इलाम सुम्बेक घर भएका याक्खा र माङसबेुङ २ इभाङ घर भएका राई साइनोमा साढुदाई र साढुभाई हुन् ।