बाढी र पहिरोमा परी प्रदेश १ मा ५६ जनाले ज्यान गुमाए

  नयाँ बुलन्द
266 Shares

इलाम : गत सोमबारदेखि अविरल वर्षा हुँदा प्रदेश १ मा बाढी र पहिरोमा परी ५६ जनाले ज्यान गुमाएका छन् । प्रदेश १ को पाँचथरमा सबैभन्दा धेरै २२ जनाले ज्यान गुमाएका छन् भने इलाममा १३ जनाको वाढी र पहिरोमा परी मृत्यु भएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने ३ बेपत्ता भएका छन् ।

मिक्लाजुङको कुरुम्बा ५ मा मात्रै १५ जनाको मृत्यु भएको छ । त्यस्तै सोही गाउँपालिकाको १ र २ मा चार जनाले ज्यान गुमाएका छन् भने वडा नम्वर ४ रविका एक व्यक्तिलाई खोलाले बजाएर बेपत्ता बनाएको छ ।

मिक्लाजुङ गाउँपालिकालकै ७ नम्बर वडा लिम्मामा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । मंगलबार राति पहिरोमा पर्दा फिदिम नगरपालिका ४ का दुई जनाको मृत्यु भएको छ । पहिरोकै कारण फाल्गुनन्द गाउँपालिकामा ३ जना र कुम्माय गाउँपालिमा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यता इलामका विभिन्न स्थानमा आएको बाढी र पहिरोले १३ जनाको ज्यान गएको छ । जिल्लाको फाकफोकथुङ गाउँपालिकामा ६ जना, सूर्योदय नगरपालिकामा ३ जना, माङ्सेबुङ गाउँपालिकामा २ जना, माइनगरपालिकामा १ जना र देउमाई नगरपालिकामा खोलाले बगाउँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उता धनकुट्टामा पहिरोले घर बगाउँदा सात जनाको मृत्यु भएको छ भने उदयपुरमा पहिरोमा परी दुई जनाको मृत्यु भएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बाढी र पहिरोमा परी सुनसरीमा पाँच जनाले ज्यान गुमाएका छन् भने मोरङ र भोजपुरमा एक/एक जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

प्रदेश १ का धेरै स्थानमा विद्युत सेवा अवरुद्ध भएकाले सम्पूर्ण विवरण प्राप्त हुन नसकिरहेको प्रहरीले जनाएको छ । पानी पर्ने क्रम अझैं नरोकिएकाले प्रदेश १ का विभिन्न स्थानमा वाढी र पहिरो गइरहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

प्रहरीले वर्षा नरोकिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अपिल समेत गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार