मुखमै आएको बाली नासियो, दशैंको आशिष थापिनसक्दै विछोडको भवसागर



काठमाडौं । बेमौसमी बाढी पहिरोको प्रकोपले कतै मुखमा आएको बाली नासिएको छ भने कतै परिवार नै पुरिएर बेखबर छ । दशैंमा बीस सय आयु होस् भनेर दिएको आशिष थापिनसक्दै थुप्रै परिवार विछोडको भवसागर डुबेको छ ।

मौसम शारदीय, तर लाग्छ बल्ल वर्षामास सुरु भएको छ । मौसममा आएको अनपेक्षित लुकामारीले अपार धनजनको क्षति व्यहोर्नुपरेको छ । दशैं मानेलगत्तै खेतमा झुलेका धान काटेर तिहार उज्यालो बनाउने योजनामा रहेका थुप्रै परिवार न खाना, न छानाको अवस्थामा पुगेका छन् ।

सुनसरहको अन्न खेतको फाँटमै पानीभित्र डुबेको दृश्यले किसान ‘न गरी जानु, न मरी जानु’को अवस्थामा पुगेका छन् । धान फलेका लह–लह फाँट बगर बनेका छन् । के मेची, के काली जताततै मानवीय विपत्तिको आर्तनाद छ ।

बाढीपहिरोले गाँस, बास र कपास मात्र गुमेको छैन, कतिको काख रित्तिएको छ । कतिको आश्रय खोसिएको छ । विकासका पूर्वाधार ढलेका छन् । गाउँको जिल्ला र जिल्लासँग क्षेत्रको सम्बन्ध टुटेको छ । दशैं मनाएर घर फर्किनेको बाटो बगेको छ ।

हेलिकोप्टरबाट निरीक्षण त भएका छन् । तर, राहतका काम प्रभावकारी बन्न सकेका छैनन् । हराएकाहरू भेटिएका छैनन् । भेटिएकाहरूको जीवन पहिरोले आफैँसँग लगेको छ । सेना र पुलिस उद्धारमा त जुटेका छन् । तर, त्यो प्रयास मात्र पर्याप्त देखिएको छैन ।

कोरोनाबाट बल्ल–बल्ल ब्यूँतिन लागेको आर्थिक बजारलाई बाढीपहिरोले नराम्रोसँग हानेको छ । नुनदेखि सुनसम्म आयातीय अर्थतन्त्रले धानेको मुलुकका लागि पाकेको बालीमा पुगेको क्षति अर्को अपसगुन हो ।

धानबालीमा पुगेको क्षतिले आर्थिक व्ययभारमा ठूलो क्षति पुर्‍याउने निश्चित छ । त्यसभन्दा अघि मानवीय संवेदनाको यस घडीमा मानवीय क्षति कम गर्नेतर्फ सबैको सामूहिक प्रयास अपरिहार्य छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार