इलाम : मेची राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । इलाम नगरपालिकाको गुम्बाडाँडा, छ्यारछ्यारे, फिक्कल र छिपिटारलगायत स्थानमा पहिरो खसेको हो । राजमार्ग अवरुद्ध हुँदा झापाबाट ताप्लेजुङतर्फ आउने–जाने सवारीसाधन रोकिएका छन् । यात्रु अलपत्र छन् ।
पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको जिल्ला ट्राफिक कार्यालय इलामका दुर्गाबहादुर बस्नेतले जानकारी दिए । वर्षाका कारण आएको बाढीले देउमाई खोलाको पक्की पुल बगाएको छ ।त्यस्तै अधिकांश ग्रामीण सडकमा क्षति पुगेको छ। गजुरमुखी, सुमवेकलगायत स्थानमा १२ वटाजति परिवार विस्थापित भएका छन् । जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ ।