कहाँ छ? संवत १८३१ सालको सकली लालमोहर !   

  विरही काइँला
1.1k Shares

केहीवर्ष अघि किरात याक्थुङ चुम्लुङ नेपालले स्व.ईमानसिंह चेम्जोंग जन्म जयन्ति अन्तर्राष्ट्रिय स्तरमा आयोजन गरेको थियो । यस कार्यक्रममा भागलिने अवसर मलाई पनि जुरेको थियो ।

पहिलोदिन प्रग्या प्रतिष्ठानको भवन कमलादीमा दार्जीलिङ गोर्खा पार्वतीय परिषदको सूचना एवं संस्कृति विभागद्वारा केलाङ प्रदर्शन गरियो । त्यसपछि ललितपुरमा दुईदिने सेमिनार सम्पन्न भयो । सेमिनारको पहिलो दिन डायसमा मेरा देब्रेतर्फ बसेका इतिहासविद्द प्रा.दिनेशराज पन्तले संवत १८३१ सालको लालमोहरको जिकर गर्दै यो सकली होइन, तिथि संवत १८३१ साउन सुदी २२ रोज २ नै गलत छ भने । तिथि गणनामा सुदी २२ सम्म पुग्दैन रहेछ ।

आदरनीय दाइ वैरागी काइँला, डा.चैत्न्य सुब्बा, डा.नोवलकिशोर राई, मञ्जुल कुमार याक्थुङबा, सुखिमका बी.बी. मुरिङला आदि पनि डायसमा बसेका थिए । प्रा.दिनेशराज पन्तजीको प्रखर तर्कले सबैको मुख बन्द गरिदिए । लालमोहरको ल शब्द सम्म उच्चरण भएन ।

कार्यक्रम तुरेपछि घर पुगेर मैले संवत १८३१ सालको ताबापत्र बाचाको तसली मुलुकी लालमोहरको नकल कपि हेरे जुन आफैले सकल कपिबाट सारेको थिएँ । लालमोहर सकली नै थियो । बि.सं.२०२३ सालमा पान्थर याङना पल्लोपट्टी लुवाफुको हामराङ निवासी नन्दकुमार सुब्बा(केरुङ)को घरमा पुगेर सकल कपिबाट नकल कपि सार्दा लालमोहरमा एक दुई ठाउँ अक्षरहरूमा मसी थपिएको देखेको थिएँ । सायद मसी थपाइमा नै गडबड भएको हुनसक्छ ।

हिजो आज संवत १८३१को लालमोहर भनेर प्रचार गरिएको लालमोहरमा मसी थपिएको छैन । अक्षरहरू समेत फरक छन । फेरि अपुङगीहरूलाई राइ लेखिएको छ । तर नन्दकुमारसित भएको मुलुकी लालमोहरमा पान्थरका तीन अपुङगीहरूका नामको पछाडि राय लेखिएको छ । तर यो लालमोहर  हाल कोसँग, कहाँ छ? कतै उल्लेख पाइन्दैन ।

लालमोहरसँग प्राप्त निशान पान्थर फाक्तेपको चुङजिवामा शुन रायका वंशजहरूसित छ । तांबापत्र बाचाको तसली मुलुकी मोहर  चिलिङदेन हक्तुवापात्लेमा कुम रायका वंशजहरूसंग छ । यसरी नै लालमोहर पनि लुवाफु हामराङमा  च्वानरी भनिने जंग रायका वंशजहरूसित थियो । किनकि  पृथ्वी नारायण शाहले दिएको लालमोहर तीन भाइ अपुङगी रायहरूले एक एक वटा आफूसँग राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार