खसी बोका बिक्री नहुँदा व्यापारी निराश

काठमाडौं। उपत्यकामा खसी बोका बिक्री वितरण सुस्ताएको व्यापारीहरूले गुनासो गरेका छन् । कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो गरेका छन् । कोरोना महामारीले गर्दा कतिपयले रोजगारी नै गुमाएको अवस्था रहेको र कतिपय मानिसहरू गाउँमा दसैँ मनाउन गएकोले काठमाडौंमा खसी बोका व्यापार कम भएको बताएका छन् ।  खसी बोकाको व्यापारमा  काठमाडौं स्थानीय व्यापारीहरूको राम्रो व्यापार भए पनि बाहिरबाट खसी बोका लिएर आउने व्यापारीहरूले परल मोल नै  उठाउन नसकेको गुनासो गरेका छन् ।

काभ्रेबाट खसी बोका बिक्री गर्न भन्दै बबरमहलमा आएका जनक लामाले गत वर्षको तुलनामा यस वर्ष व्यापार हुन नसकेको बताए । गत वर्ष ३ सय खसी बोका ल्याउँदा फूलपातीकै दिन बेचेर जाने गरेको बताउँदै उनले यस वर्ष अझै सय वटा बोका बेच्न बाँकी रहेको बताए । व्यापारी लामाले भने, ‘यस वर्ष पोहोरको तुलनामा आधा पनि व्यापार भएको छैन, सबै जना गाउँ गएको हो कि,खाने मान्छे नै नभएको हो कि ?महँगोले पनि होला,मैले साढे तीन सय ल्याएको थिएँ, अझै १ सय वटा बाँकी छ, पोहोर फूलपातीकै दिन सकाएर जान्थ्यौँ, यसपालि सयवटा बाँकी नै छ, मैले ६ सयदेखि ६५० सम्ममा बिक्री वितरण गरिरहेको छु ।’

त्यस्तै धादिङबाट खसी बोका ल्याएर भृकुटीमण्डपबाट बेच्दै आएका परशुराम चौलागाँईले पनि गत वर्षको जस्तो व्यापार नरहेको बताए । उनले यस पटक खसी किनेको परल मोल नै उठाउन हम्मे हम्मे परेको गुनासो गरे । उनले कोरोनाका कारण ग्राहकहरूको खरिद शक्ति (पैसाको कमी भएको) नभएको बताए । किन्न आएका ग्राहकहरूले मूल्य थोरै दिने गरेको बताए। व्यापारी चौलागाइँले भने, ‘पहिला महँगो भयो, अहिले आएर घट्यो, त्यसैले यताका व्यापारीहरू सबै गाउँमा पसे, गाउँमा ६५० भयो, व्यापारीहरूमा नै प्रतिस्पर्धा भयो, पोहोर आजका दिनसम्म खसी किन्नेहरूले झम्टिएर लैजान आइपुग्थे यस वर्ष त्यति व्यापार हुन सकिरहेको छैन, अहिले २२, २५ हजारको खसिलाई १४ हजार दिन आउँछन्, हामीले साउँसम्म उठाउन पाए हुन्थ्यो भनेर बेचिरहेका छौँ, खोरमा हरायो भने पनि केही पैसा नपाउने रहेछ, आफैँ चिनेर लैजानुस् भन्ने, कहाँ खोज्न जानु ? हराएपछि आफैँलाई घाटा छ । ३५,४० वटा बेचिसक्यौँ, अब १०,१५ वटा बाँकी छ, कोरोनाले असर गरेको छ, व्यापारीहरूलाई त छँदै छ, ग्राहकहरूसँग पनि पैसा कमाएका छैनन्, अनि कसरी खसी किन्नु ।’

उनले कोरोना महामारीले गर्दा खसी बोका बिक्री वितरण हुन नसकेको बताए । बाहिरबाट खसिबोका र च्याङ्ग्रा बिक्री गर्न काठमाडौं आएका व्यापारीहरू चाहे जस्तो व्यापार नहुँदा निराश देखिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार