प्रेस युनियन इलामको शुभकामना आदान प्रदान कार्यक्रममा “जिल्ला बा स्मृति प्रत्रकारिता पुरस्कार ” घोषणा

  नयाँ बुलन्द
175 Shares

 

इलाम : नेपाल प्रेस युनियन इलाम शाखाले शनिबार शुभकामना आदान प्रदान तथा समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

सूर्योदय नगरपालिकाको फिक्कलमा युनियनले दशै ,तिहार छठ ,नेपाल सम्बत जस्ता पर्वको अवसरमा शुभकामना आदानप्रदान सहित समिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।
युनियन इलामकी कार्यवाहक अध्यक्ष सविता पाण्डेको अध्यक्षता तथा युनियनका केन्द्रिय सदस्य माधव चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोरोना महामारीले संचार क्षेत्र र संचारकर्मी माथि परेको प्रभावको समिक्षा गरिएको थियो ।
कार्यक्रममा शुभकामना राख्दै केन्द्रिय सदस्य चौलागाईले प्रेस जगतलाई कमजोर बनाउने प्रयत्न गरिएमा सबै संचारकर्मी एक भएर लडनु पर्ने बताउनु भयो । वहाँले सरकारी पक्षले पटक पटक प्रेस जगतलाई कमजोर बनाउने काम भएको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष बिप्लब भट्टराईले कोरोना महामारीको समयमा महासंघ इलाम शाखाले कोरोना प्रभावित संचारकर्मीका लागि विभिन्न राहत प्याकेजका कार्यक्रम संचालन गरिएको जानकारी दिनु भयो ।
जिल्लामा २५ बढी संचारकर्मी संक्रमित हुँदा घरघरमै पुगेर महासंघले सहयोग गरेको भट्टराईले बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ का सदस्य तोयानाथ भट्टराई,अग्रज पत्रकार प्रभाकर प्रधान, जिवन शर्मा ,राष्ट्रिय वन पैदावर ब्यवसायी संघका केन्द्रिय अध्यक्ष रोहित खड्का ,युनियन इलामका उपाध्यक्ष बिनय तिम्सिना लगायतले शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा युनियनलाई विभिन्न समयमा सहयोग गर्ने राष्ट्रिय वन पैदावर ब्यवसायी संघका अध्यक्ष रोहित खड्का लगायतका ब्यक्तिलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा युनियनकी कार्यवाहक अध्यक्ष पाण्डेले युनियनले गर्दै आएका गतिविधि र आगामी कार्यक्रम बारे जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रमको अवसर पारेर केन्द्रिय सदस्य चौलागाईको पहलमा इलाम नगरपालिका -४ निवासी नेपाली काँग्रेस इलामका पुराना नेता तथा समाजसेवी स्व.”रामप्रसाद दुलाल (जिल्ला बा) स्मृति प्रत्रकारिता पुरस्कार” घोषणा गरिएको छ । चौलागाईका आफ्ना मामा दुलाल (जिल्ला बा) को योगदानको कदर गर्दै वहाँको स्मृतिमा शिक्षा,पर्यटन र कृषि क्षेत्रमा कलम चलाउने एक जनालाई बर्षेनी बितरण गर्ने गरी २० हजार राशीको पुुरस्कार चौलागाईले घोषणा गर्नु भयो ।
उक्त राशी जिल्लामा बितरण हुँदै आएका पत्रकारिता पुरस्कार मध्येको सबै भन्दा ठूलो हो । युनियन इलामको मातहतमा अक्षयकोष स्थापना गरी उक्त पुरस्कार केहि दिन भित्रमै एक जना उत्कृष्ट पत्रकारलाई प्रदान गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार