कांग्रेस इलाम सभापतिमा रस्साकस्सी : बेनुप प्रसाइँको भूमिका शंकाको घेरामा

  नयाँ बुलन्द  1579 पटक हेरिएको

इलाम : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्तर्गत जिल्ला नेतृत्व चयन भइरहेका छन् । कतिपय जिल्लामा वडा, पालिका, क्षेत्र हुँदै जिल्ला नेतृत्व चयन सकिएको छ । जिल्लाले नयाँ नेतृत्व पाएको छ । प्रदेश नम्बर एकको पहाडी जिल्ला इलाममा पालिका अधिवेशन सकिएर क्षेत्र र जिल्ला अधिवेशनको तयारी भइरहेको छ । विशेषगरी जिल्ला नेतृत्व कसले हत्याउने भन्ने जोडघटाउ शुरु भएको छ ।

इलाममा चारजना जिल्ला सभापतिका आकांक्षी छन् । त्यसमध्ये तीन जनाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । सभापतिका लागि दुई जना नयाँ अनुहार छन् भने दुई जना पुरानै नेताले इच्छा देखाएका छन् । कम्युनिष्ट पार्टीका ‘हेभी वेट’ नेताहरु रहेको इलाममा कांग्रेसको जिल्ला नेतृत्व मजबुद हुनुपर्नेमा कार्यकर्तास्तरबाट दबाब बढेको छ । पुरानो भन्दा पनि इलाममा यस पटक नयाँ अनुहार नेतृत्वमा आउनुपर्ने बहस चलिरहेको छ । यद्यपी, कतिपयले पुरानै अनुहारलाई नेतृत्वमा ल्याएर काम गर्ने अवसर दिनुपर्ने चर्चा पनि उत्तिकै छ ।

आन्तरिक गुट उपगुटबाट अलक रहँदै कांग्रेसभित्र एकताको अधिवेशन हुनुपर्नेमा कार्यकर्ताको जोड छ । चुनावको मुखमा मात्र गाउँले कार्यकर्तालाई भेट्न पुग्ने कतिपय आकांक्षीहरु देखि सदाबहार संगठनको सुदृढीकरणमा खटिएका नेताहरु जिल्ला नेतृत्व लिने दाउमा छन् । इलामको आगामी नेतृत्वका लागि बहालवाला सभापति, पूर्वसभापति देखि जिल्लास्तरमा सक्रिय नेताहरुले दाबी गरेका छन् ।

विभिन्न खेमामा विभाजित देखिएको कांग्रेस इलाममा पनि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा.शंशाक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका नेताहरुसँग निकट मानिएका नेताहरु नै नेतृत्वको दौडधुपमा छन् । पाकादेखि युवा अनुहारहरु जिल्ला नेतृत्वमा आउने इच्छा देखाएका छन् ।

वडा अधिवेशनमा चुनिएका क्षेत्रीय प्रतिनिधि र १० वटा पालिकामा चयन भएको नेतृत्वलाई आधार मानेर भावी नेतृत्वको फ्रेम कोर्न थालिएको छ । १५ हजार बढी क्रियाशील सदस्य रहेको इलाममा यस पटक हालका सभापति हिमालय कर्माचार्य, पूर्व सभापति केशव थापा, महासमिति सदस्य भेषराज आचार्य, पूर्व कोषाध्यक्ष डम्बर खड्का सभापतिको रेसमा छन् ।

चार जना सभापतिका दाबेदार रहे पनि इलाममा अन्य प्रभावशाली नेताहरुको भूमिकालाई विशेष नजरले हेरिएको छ । पूर्वसांसद बेनुपराज प्रसाइँ, टीकाराम लाप्चा, बर्तमान सांसद सुजाता परियारदेखि तोयानाथ भट्टराई, दीपक अधिकारी, होम दुलाल, पून्य शिवाकोटी, हरि खनाल, प्रेम चाम्लिङ, केदार थापालगायत अन्य प्रभावशाली नेताहरुको भूमिका र समर्थनलाई आधार मानेर भावी जिल्ला नेतृत्वको अडकलबाजी शुरु भएको छ ।

यसमध्ये पूर्व राज्यमन्त्री समेत भइसकेका नेता बेनुपराज प्रसाइँको भूमिकालाई लिएर भने विभिन्न शंका गर्न थालिएको छ । प्रसाइँ बाहेक अन्य नेताले आफ्नो समर्थन बाहिर सार्वजनिक नगरेपनि आन्तरिक रुपमा सिन क्लियर गरिसकेका छन् । सोही अनुसार आफूले समर्थन गरेको आकांक्षीको लबिङलाई तिब्रता दिएका छन् । मुख्यगरी शेर बहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको टीमको प्रभाव इलाममा देखिए पनि मुख्य प्रतिस्पर्धा देउवा र पौडेलको हुने निश्चित जस्तै छ । तर प्रसाइँ टीमविहीन जस्तै देखिएका छन् । उनले केन्द्रका नेताहरुसँग बेग्लै संवाद गर्ने र जिल्लामा बेग्लै भूमिका निर्वाह गर्ने गरेकाले उनलाई शंकाको घेरामा राखिएको छ ।

तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला निकट रहेर राजनीतिक उचाइ लिएका प्रसाइँले २०५६ सालको संसदीय निर्वाचनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पराजित गरेर केन्द्रमा राम्रो चर्चा कमाएका थिए । संसदीय निर्वाचन विजयी भएर गएपछि गिरिजाप्रसादको निकट रहेर संसदीय दलमा पनि गहन भूमिका निर्वाह गरेका उनी गिरिजाबाबुको निधनपछि विस्तारै ओझेल पर्दै गएका थिए । धेरैजसो इलाम बाहिर रहेपनि अधिवेशनको पूर्वसन्ध्यामा इलामका गाउँ घुम्ने गरेका उनले १२औं र १३औं महाधिवेशनमा खेलेको भूमिकालाई कार्यकर्ताहरुले त्यति सन्तोसजनक मान्ने गरेका छैनन् ।

१३औं महाधिवेशनको शुरुवातीमा सभापतिका प्रत्यासी भेषराज आचार्यलाई सघाएका उनले अन्तिममा हिमालय कर्मचारीलाई सहयोग गरेर भेषराजलाई हराउन बलियो भूमिका खेलेका थिए । इलाम जिल्ला सभापतिमा दाबी गर्न पनि नसक्ने र केन्द्रका लागि पनि खुट्टा कमाउने गरेका उनको पछिल्लो भूमिका ‘भिलेन’ जस्तो देखिन थालेको कार्यकर्ता स्तरमा चर्चा शुरु भएको छ । केन्द्रका नेताहरु रामचन्द्र पौडेल,डा.शेखर कोइराला र डा.शशांकसँग भेषराजलाई सघाउने भनी बचन दिने गरेका उनी प्रकाशमान सिंह, कृष्ण सिटौलाको कानमा हिमालय कर्मचार्यलाई सघाइरहेको सन्देश दिइरहेका छन् ।

१४औं महाधिवेशनको रौनक तातिरहेको अवस्थामा प्रसाइँ देउवा निकट सभापतिका प्रत्यासी डम्बर खड्कातिर लचक देखिएको इलाम सदरमुकाममा चर्चा शुरु भएको छ । समन्वयकारी र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बेलामा प्रसाइँको गतिविधिले कार्यकर्ताहरुमा आक्रोश पैदा भएको छ । पछिल्ला बर्षहरुमा जनाधार गुमाउँदै गएका प्रसाइँ राजनीतिबाट अलग हुन पनि नसक्ने र प्रभाव जमाउन पनि नसक्ने अवस्थामा छन् । कुनै समय विकासप्रेमी र सहयोगी भावनाका कारण ताली र बधाई पाउने गरेका उनको पछिल्ला गतिविधिहरुले इलाम कांग्रेसमा अन्योल र शंकाको अवस्था सिर्जना गराएको छ ।

विशेषत इलाममा केन्द्रीय सभापति शेरबहादुर देउवाको टीमबाट केशव थापा, डम्बर खड्का, होम दुलाललगायतका नेताले भूमिका निर्वाह गरिरहे पनि थापा र दुलाल भन्दा खड्काले आफ्नो प्रभाव जमाउँदै टीम स्थापित गर्ने लक्ष्यमा छन् । खड्का एक्लै सभापतिको उम्मेदवारका रुपमा आफूलाई उभ्याउन खोजिरहेका छन् । तर देउवा टीमकै थापा र दुलालले अन्तिममा आएर कर्मचार्यलाई सघाउन सक्ने आकंलन पनि गरिन थालेको छ । त्यसोहुँदा खड्काले देउवाको विश्वास जित्न सक्ने सोझो अनुमान गरिएको छ ।

त्यस्तै भेषराज आचार्यले पौडेल–कोइरालाको टीमबाट आफूलाई स्थापित गर्दै अन्तिममा कर्मचार्यको समर्थन पाउने विश्वास गरेपनि कर्मचार्य सभापतिबाट पछि नहट्ने अभियानमा छन् । यस्तो अवस्थामा पहिलो चरणमा कुनै उम्मेदवारले पनि ५० प्रतिशत मत कटाउन नसक्ने बताइन्छ । अन्तिममा आचार्य–खड्का र थापा–कर्मचार्यको समीकरण बन्नसक्ने अनुमान पनि गरिन थालेको छ । यस्तो भएको खण्डमा पौडेल समूहले केन्द्रबाट सोझै दबाब बढाउन सक्ने र आफ्नो नयाँ अनुहारलाई नेतृत्वमा ल्याउन कम्मर कसेर लाग्न सक्ने बताइन्छ ।

सभापतिका आकांक्षीहरु एकले अर्कोलाई छाड्न नसक्ने यस्तो अवस्थामा प्रसाइँको भूमिका समन्वयकारी र अभिभावकीय हुनुपर्नेमा अवसरवादी देखिएको कार्यकर्ताहरुको गुनासो गरिरहेका छन् । उनी अझैपनि सबै उम्मेदवारलाई रिझाएर प्रतिनिधि सभा सदस्यको टिकट फुत्काउने दाउमा छन् । तर त्यो सजिलो छैन् । राजनीतिक अवस्था फेरिएको, नयाँ नेताहरुको उदय भइसकेको र कार्यकर्ताको अपेक्षा बदलिइसकेकाले प्रसाइँको ‘भिलेन रोल’ले सफलता पाउन नसक्ने अनुमान गरिएको छ । उनी आफैं पनि राजनीतिक रुपमा सेफ ल्यान्डिङ खोज्नुपर्ने मनोबैज्ञानिक अवस्थामा पुग्न सक्ने अडकलबाजी गर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार