एकै पटक ठूलो संख्यामा शिक्षक पद रिक्त हुँदै, विज्ञापन खुलाउने तयारीमा आयोग

  नयाँ बुलन्द  74 पटक हेरिएको

sharethis sharing button

एकै पटक ठूलो संख्यामा शिक्षक पद रिक्त हुँदै, विज्ञापन खुलाउने तयारीमा आयोग

काठमाडौं : लामो समयसम्म पदाधिकारी नपाएको शिक्षक सेवा आयोगले अहिले शिक्षक पदपूर्तिका लागि आवश्यक काम तीव्र गतिमा गरिरहेको छ । आगामी चैत मसान्तसम्म ठूलो संख्यामा शिक्षकको दरबन्दी रिक्त हुने अवस्था आएपछि अहिले आयोगले आफ्नो आन्तरिक तयारीलाई तीव्रता दिएको हो ।

आयोगका सूचना अधिकारी उपसचिव सुदर्शन मरहठ्ठा आयोगमा पदाधिकारी नियुक्त भएपछि बनेको कार्ययोजना अनुसार सबै कामहरू अगाडि बढेको बताउनुहन्छ । ढिलोमा तिहारसम्म शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने तयारी आयोगको रहेको उहाँले बताउनुभयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट १७ हजार शिक्षक पदपूर्ति गर्नुपर्ने गरी विवरण प्राप्त भएकाले सोही अनुसार आयोगले आफ्नो तयारी अगाडि बढाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप्त विवरणअनुसार अहिले हामी अध्ययन गरिरहेका छौँ । अझै केही जिल्लाबाट विवरण आउन ढिलाइ भइरहेको छ । पाठ्यक्रम पनि नयाँ बनाउनुपर्ने भएकाले केही ढिला भएको हो । पदपूर्तिको प्रक्रिया छिट्टै अगाडि बढ्छ ।’

आयोगले पदाधिकारी पाएपछि पदपूर्ति, शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस लगायतका काम गर्ने गरी योजना बनाएको छ । सोहीअनुसार काम अगाडि बढेको उहाँले बताउनुभयो । चैत मसान्तमा ठूलो संख्यामा शिक्षक दरबन्दी रिक्त हुँदैछन् नि ? यसले समस्या गर्दैन भन्ने प्रश्नमा उहाँले भन्नुभयो– ‘अहिले बाहिर आएको संख्या सबै रिक्त भएको वा हुने भन्ने होइन । अहिले अस्थायी दरबन्दीबाट पनि शिक्षकहरू नियुक्त हुनुभएको छ । रिक्त हुनेमध्ये केही संख्या अनिवार्य अवकाश र केही स्वेच्छिक अवकाशको हो । यसले शिक्षणमा ठूलो समस्या गर्दैन । तर धेरै साथीहरू अहिले पनि आयोगको विज्ञापनको पर्खाइमा हुनुहुन्छ । अब छिट्टै खुल्छ ।’

आयोगले यो आर्थिक वर्षको अन्त्यसम्म सबै पदपूर्ति गरिसक्ने गरी विज्ञापन खुलाउने उहाँले बताउनुभयो । लामो समयसम्म आयोगमा पदाधिकारी नहुनु र नयाँ पाठ्यक्रम बनाउनुपर्ने अवस्थाले केही ढिलाइ भएको उहाँको भनाइ छ । अहिले पनि विभागीय मन्त्री नहुँदा केही काम प्रभावित भए पनि अब मन्त्रिमण्डल विस्तार भएपछि सहज हुने अपेक्षा उहाँले गर्नुभयो ।

२० हजार बढी शिक्षक दरबन्दी रिक्त हुँदै

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी चैत मसान्तसम्म २० हजार ३५६ जना शिक्षकको दरबन्दी रिक्त हुने भएको छ । खुला र आन्तरिक पदपूर्तिको बाटोसमेत बन्द हुँदा एकैपटक यति ठूलो संख्यामा शिक्षक रिक्त हुने भएको हो । केन्द्रले असोज पहिलो साता नै रिक्त दरबन्दीमा विज्ञापनका लागि विवरण पठाएको जनाएको छ ।

केन्द्रका अनुसार अहिले प्राथमिक तहमा खुलातर्फ १२ हजार ९१२ शिक्षकको दरबन्दी रिक्त छ । निम्न माध्यमिक तहमा रिक्त हुने दुई हजार ५९३ दरबन्दी रहेको छ । जसमा नेपाली ४३६, अंग्रेजी ६२२, सामाजिक ३५२, गणित ३७०, विज्ञान ४४० र ऐच्छिक प्रथममा नौ रहेको छ । माध्यमिक तहमा एक हजार ५४२ रिक्त हुनेमा नेपाली २३०, अंग्रेजी ३१३, सामाजिक २०१, गणित २८८, विज्ञान ४३३, ऐच्छिक प्रथम १८ र ऐच्छिक द्वितीयमा ५९ शिक्षक दरबन्दी छ ।

यसैगरी आन्तरिक प्रतिस्पर्धा र बढुवातर्फ प्राथमिक तहको प्रथम श्रेणीमा ४५२ र द्वितीय श्रेणीमा एक हजार ६९३ गरी दुई हजार १४५ शिक्षक दरबन्दी रिक्त हुँदैछ । निम्न माध्यामिक तहको प्रथम श्रेणीमा ७८ र द्वितीय श्रेणीमा ४७८ गरी ५५६ पद रिक्त हुँदैछ । त्यस्तै माध्यामिक तह प्रथम श्रेणीमा १२४ र द्वितीय श्रेणीमा गरी ६ सय आठ गरी ७३२ शिक्षकको पद रिक्त हुँदैछ ।

आन्तरिक प्रतिस्पर्धा तथा बढुवाभित्र पनि कार्यसम्पादन तथा जेष्ठताको आधारमा हुने ७५ प्रतिशत बढुवातर्फ प्राथमिक तहमा प्रथम श्रेणीमा ३८४ र द्वितीय श्रेणीमा एक हजार २७५ गरी एक हजार ६५९ शिक्षकको पद रिक्त हुँदैछ । यस्तै निम्न माध्यमिक तहको प्रथम श्रेणीमा ७० र द्वितीय श्रेणीमा ३६८ गरी ४३८ शिक्षकको दरबन्दी रिक्त हुँदैछ । माध्यमिक तह अन्तर्गत प्रथम श्रेणी ११० र द्वितीय श्रेणीमा ३७१ गरी जम्मा ४४१ शिक्षकको पद रिक्त हुँदैछ । यसरी कार्यसम्पादन तथा जेष्ठताबाटै ७५ प्रतिशत बढुवातर्फ गरेर दुई हजार ५३८ शिक्षकको पद रिक्त हुँदैछ ।

लाइसेन्स लिने सात लाख बढी, आयोग नयाँ पाठ्यक्रम बनाउँदै

आयोगका अनुसार अहिलेसम्म सात लाख बढीले शिक्षण अध्यापन अनुमति पत्र लिएका छन् । प्राथमिक तहमा दुई लाख दुई हजार ७१२ जनाले अनुमतिपत्र लिएको उहाँले बताउनुभयो । यस्तै निम्न माध्यमिक तहमा तीन लाख ७० हजार १२ जनाले र माध्यमिक तहमा एक लाख ४४ हजार ३८१ जना गरी सात लाख १७ हजार १०५ जनाले लाइसेन्स लिएका छन् ।

माध्यमिक तहको लाइसेन्स लिएकोले शिक्षा विषयमा कम्तिमा १० महिने तालिम लिएको छ भने उक्त व्यक्तिले निम्न माध्यमिक र प्राथमिक तहको शिक्षक दरबन्दीका लागि परीक्षा दिने पाउने व्यवस्था छ ।

यस्तै आयोगले स्थायी खुला प्रतियोगिताको लागि आयोगले बाँकी विषयको नयाँ पाठ्यक्रम बनाउने प्रकृया अगाडी बढाएको छ । यसअघि निम्न माध्यमिक तहका पाँच विषय र माध्यमिक तहका १६ विषयको पाठ्यक्रम स्वीकृत गरिसकेको छ । आयोगले यो वर्ष निम्न माध्यमिकको तीन वटा पाठ्यक्रम र माध्यमिकको दुई वटा पाठ्यक्रम बनाउने बताइएको छ । पाठ्यक्रम बनाउन समय लाग्ने र आयोगले स्वीकृत गरिसकेपछिको तीन महिनापछि मात्रै संशोधित पाठ्यक्रम या नयाँ पाठ्यक्रम लागु हुने कानुनी प्रावधान छ । जसका कारण केही समस्या हुने देखिन्छ । तर अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै केही विकल्प सोच्ने विषयमा आयोग आन्तरिक छलफलमा रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार