स्वास्थ्यकर्मीले पाएनन् तलब र जोखिम भत्ता, १९ करोड निकाशा हुन बाँकी



काठमाडौं । कोरोना संक्रमणको समयमा काम गरेका चिकित्सक र स्वास्थ्यकर्मीहरूले तलब र जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । संक्रमणको दोस्रो लहर सुरु भएयता करारमा राखिएका स्वास्थ्यकर्मीलाई सरकारले साउन महिनादेखिको सेवा सुविधाको भुक्तानी रोकेको छ ।

दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रण बाहिर पुगेपछि अस्पतालहरूले धमाधम करारमा चिकित्सक राखेका थिए । दरबन्दीका चिकित्सकले मात्र संक्रमण पार लगाउन नसक्ने भएपछि सबै प्रदेशले सयौंको संख्यामा चिकित्सक, नर्स, पारामेडिसिन थपेका थिए ।

करिव ६ महिनाको करार सम्झौतामा राखिएका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई सरकारले साउन महिनादेखि तलब र जोखिम भत्ता दिएको छैन । अर्थमन्त्री जर्नादन शर्माले मन्त्री भएकै दिन स्वास्थ्यकर्मीलाई समयमै जोखिम भत्ता र तलब दिने आश्वासन दिनुभएको थियो ।

तर, साउन महिनायता तलब र भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीहरूले सामाजिक सञ्जालमार्फत विरोध जनाइरहेका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले समेत महामारीका बेला खटिएका ५० जना करारका चिकित्सकलाई साउन महिनादेखिको पारिश्रमिक दिएको छैन ।

वीर अस्पताल र गण्डकी प्रदेशको सरुवारोग अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले पनि तलब पाएका छैनन् । गण्डकीमा वैशाख महिनायता सरकारले तोकेको ५० प्रतिशत जोखिम भत्ता, करारबाहेकका चिकित्सक र स्वास्थ्यकर्मीले पनि पाएका छैनन् ।

यस्तै, लुम्बिनी प्रदेशको भेरी अस्पतालमा समेत चिकित्सक र नर्स गरी १ सय कर्मचारीले साउनदेखि नै तलबभत्ता पाउन सकेका छैनन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था पनि उस्तै छ ।

काम गरेको पारिश्रमिक रोकेको विषयमा स्वास्थ्य मन्त्रालयका आर्थिक प्रशासन शाखा प्रमुख लक्ष्मीप्रसाद जोशी बजेट परिमार्जन भएकाले करारका रहेका कर्मचारीको तलब रोकिएको बताउनुभयो । करारमा रहेका कर्मचारीहरूको मात्र पारिश्रमिक रोकिएको भन्दै उहाँले अस्पतालहरूले संक्रमित बिरामीको नाम दर्ता गर्न ढिलाइ गर्दा रकम निकासा हुन नसकेको बताउनुभयो ।

प्रत्येक अस्पतालले कति संक्रमित बिरामीको उपचार गरेको हो भन्ने दर्ता हुनुपर्ने भन्दै उहाँले अब छिट्टै रकम निकासा हुने दाबी गर्नुभयो । हाल पारिश्रमिक र जोखिम भत्ताको लागि १९ करोड निकाशा हुन बाँकी छ । वीर अस्पताललाई १३ करोड र बाँकी ६ करोड अन्य अस्पतालमा पठाइने मन्त्रालयले जनाएको छ ।

तलब भत्ता दिन मन्त्रालयबाट स्वीकृत भएर अर्थ मन्त्रालयमा फाइल पुगेको भन्दै शाखा प्रमुख जोशीले अबको केही दिनभित्र दिने गरी तयारी भएको बताउनुभयो । कोरोना संक्रमण नियन्त्रणमा रातदिन खटेका चिकित्सक र स्वास्थ्यकर्मीको पारिश्रमिक र जोखिम भक्ता विभिन्न बहानामा रोकिनुलाई उचित मान्न सकिँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार