कांग्रेसका युवामा नेतृत्वप्रति आकर्षण : पुस्तान्तरणको बहस कि स्वार्थको गोटी ?

  नयाँ बुलन्द  70 पटक हेरिएको



काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्र्तगत केही जिल्ला बाहेक अधिकांश जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ । दुई चरणको अधिवेशन अन्तिम चरणमा पुग्नै लाग्दा यसपटक कांग्रेसमा युवा आकर्षण देखिएको छ ।

पार्टीको केन्द्रीय राजनीतिमा सात दशक उमेरमाथिका नेताहरू हावी भइरहँदा तल्लो तहमा युवाहरूको प्रतिनिधित्वले नैतिक दवाव दिएको छ । वडा अधिवेशनमा दैलेखको दुल्लु नगरपालिका–३ मा १९ वर्षीया स्वस्तिका महत वडा सभापतिमा निर्वाचित भइन् । आफूभन्दा एक दर्जन बढी सिनियर आकांक्षीलाई पछि पार्दै स्वस्तिकाले वडा सभापतिमा बाजी मारेकी हुन् ।

यस्तै, विराटनगर महानगरपालिका–१२ बाट १८ वर्षीय किशोरी रक्षा यादव क्षेत्रीय प्रतिनिधि निर्वाचित भइन् । पार्टीसभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको परशुराम नगरपालिकाको सभापतिमा २८ वर्षका भरत जोशी निर्वाचित भए ।

यी प्रतिनिधि पात्र हुन् । आसन्न महाधिवेशन अन्तर्गत अहिलेसम्म सम्पन्न वडा र पालिका अधिवेशनमा आधा बढी संख्यामा युवाहरु चयन भएका छन् । मुलुकको सबैभन्दा पिछडिएको प्रदेशको चिनारी पाएको कर्णाली प्रदेशको वडा र पालिका अधिवेशनमा त धेरै ठाउँमा २० वर्षमुनिका युवा क्षेत्रीय प्रतिनिधि, बुथ सभापतिसहित विभिन्न पदमा निर्वाचित भएका छन् ।

कांग्रेसमा देखिएको युवा सहभागितालाई आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका केन्द्रीय सदस्य गगन थापा उत्साहित हुनुहुन्छ । युवावर्ग नेतृत्वमा आउनुलाई उहाँले पार्टीप्रतिको आकर्षण र युवाहरूमा कांग्रेसप्रतिको लगावसँग तुलना गर्नुहुन्छ । नेतृत्वमा युवा आउँदा पार्टीको आगामी कार्यदिशामासमेत युवामैत्री र नयाँपन आउने उहाँको विश्वास छ ।

विगतमा कांग्रेसभित्र युवा सहभागिता नेतृत्वको स्वार्थका लागि मात्र प्रयोग हुने गरेको थियो । युवाको उल्लेख्य सहभागितासँगै पार्टीको जीवनमा कस्तो प्रभाव पर्ला भन्ने चासो बढेको छ । केन्द्रीय सदस्य थापा स्थानीय तहसँगै केन्द्रमा पनि युवापुस्ताले हस्तक्षेपको आवश्यकता महसुस गरेको जिकिर गर्नुहुन्छ । केन्द्रीय तहमा युवापुस्ताको हस्तक्षेप नहुँदा विशिष्ट नेताहरूमा आफू नै सर्वोच्च भन्ने भ्रम रहेको उहाँको भनाइ छ ।

स्थानीय स्तरमा देखिएको युवा सहभागिताले उमेर ढल्केपछि नेतृत्वमा पुग्ने परिपाटीको अन्त्य र राजनीतिमा पुस्तान्तरणको मान्यता कांग्रेसमा स्थापित होला वा विगतमा जस्तै फेरि पनि युवा सहभागिता स्वार्थको गोटीको रूपमा मात्र प्रयोग होला । मंसिरमा तय महाधिवेशनले देखाउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार