आउनै लाग्यो दशैं

आउनै लाग्यो दशैं,आएनन् मुस्ताङ्गी भेडा च्याङ्ग्रा

म्याग्दी । नेपालीहरुको महान पर्व दशैं नजिकिंदै आएको छ । दशैंमा  मुस्ताङी भेडाच्याङ्ग्राको माग र महत्व पनि ह्वात्तै बढ्ने गर्दछ । तर,यसपटक भने कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दशैंमा धेरै भेडा च्याङ्ग्रा बजारमा नआउने भएका छन् भने आएका भेडा च्याङ्ग्राको मूल्य पनि आकासिएको छ ।

तिब्बतबाट च्याङ्ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्यांग्राको भाउ प्रतिगोटामै सातदेखि १० हजारसम्मले महंगिएको लोमान्थाङ्का व्यापारी पासाङ गुरुङले बताए ।

मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले यस वर्ष मुस्ताङ्मै भेडा च्याङ्रगाको अभाव देखिएको बताए । ‘लोमान्थाङबाट आज (बिहीबार) मात्रै केही भेडा च्याङ्ग्राहरु तल (मुस्ताङ)झर्दै गरेका जानकारी पाएको छु’ अध्यक्ष तुलाचनले भने ‘गतवर्ष व्यापारीले २७ हजार प्रतिगोटामा बिक्री गरेको च्यांग्राको भाउ यसपटक ३५ हजार भन्दामाथि पुगेको जानकारी आएको छ ।’

मूल थलोमै महंगो भएपछि बजारमा च्यांग्राको भाउ अझै बढ्न सक्ने उनको भनाइरहेको छ । गतवर्ष मुस्ताङबाट मात्रै करिब ७  हजार च्यांग्रा बिक्रीका लागि पठाइएकोले यस वर्ष मुस्ताङमा पनि धेरै भेडा च्याङ्ग्रा नभएकाले समस्या उत्पन्न भएको उनले बताए ।

कोभिड–१९का कारण चीनले लामो समयदेखि नाका ठप्प बनाउँदा च्यांग्रा मुस्ताङ आउन नपाएको एक दशकदेखि मुस्ताङमा भेडाच्याङ्ग्राको व्यवसाय गर्दै आएका गुन्जा तेन्जिङले बताए ।

पाँचदिन अघिमात्र मुस्ताङबाट सरुवा भइ म्याग्दीको बेनी भेटेरीनरी अस्पताल तथा पशु विकास केन्द्रमा आएका केन्द्र प्रमुख जीवन आचार्यका अनुसार यस वर्ष तिब्बतबाट भेडा च्याङ्ग्रा नआउने वा आए पनि अत्यन्त कम मात्रामा आउने हुँदा मुस्ताङमा पालिएका भेडा च्याङ्ग्राहरु मात्रै ढिलोगरी बजारमा आउने भएका छन् । उनका अनुसार मुस्ताङमा पालिएका ती भेडाच्याङ्ग्राको मूल्य मुस्ताङमा नै रु ३५ हजारदेखि ३९हजारसम्म रहेको छ ।

सामान्य अवस्थामा व्यापारीहरुले दशैंलाई लक्षित गर्दै तिब्बतबाट च्यांग्रा ल्याउने गरेकोमा यस वर्ष यस्तो नभएको उनको भनाइरहेको छ ।

सामान्य अवस्थामा मुस्ताङ र तिब्बतबीच वर्षको दुई पटक व्यापार हुने गरेकोमा कोरोनाका कारण यस वर्षको व्यापार नभएको मुस्ताङका व्यापारीहरुले बताएका छन् ।

जेठ र साउनमा हुने मेलामा नेपाली वस्तु तिब्बतीयनहरुले किन्ने र च्यांग्रा तथा खसीको पाठा नेपालीहरुले किनेर पाल्ने गरेको भएपनि यसवर्ष त्यो मेला हुन नपाएको उद्योग वाणिज्य संघ मुस्ताङका अध्यक्ष तुलाचनले बताए ।

हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले भेडा–च्यांग्रा खोज्ने गर्छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार