पाँचथरमा शुरू भयो जसपाको सुज अभियान

  युद्धबहादुर बोहोरा
385 Shares

 

पाँचथर : जनता समाजवादी पार्टी,नेपालले पाँचथरमा शनिबारबाट सुज अभियानको सुरुवात गरेको छ ।
संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान पाँचथरका संयोजक एवं जसपा केन्द्रिय कार्यकारिणी सदस्य रनध्वज कन्दङ्वाले उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले जसपालाई अब अन्य पार्टीहरु कांग्रेस,एमाले जस्तो नभएर वैकल्पिक पार्टीको रुपमा उदय गराउने दाबी गरे ।

अभियानमा प्रदेश अध्यक्ष प्रविण चाम्लिङ,लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम,केन्द्रिय सदस्यहरू दिपेन्द्र आङ्देम्बे,प्रेमराज लावती,मचिन्द्र बेघा,जेन्टल लावती,नेता एबिराज आङ्देम्बे,राजेन्द्र जवेगु,बुद्ध राज इङ्वा जिल्ला महिला उपाध्यक्ष भावना इङ्वा,प्रदेश सदस्य तथा लिम्बुवान सह- कोषाध्यक्ष शर्मिला आङदेम्बे, लिम्बुवान राष्ट्रिय समिति सदस्य एलबी रहपाल लगायतको उपस्थिति रहेकोे थियो ।


अभियानमा प्रशिक्षण दिंदै नेताहरूले जसपा आफ्नो मुद्दा र एजेन्डामा कुनैपनि हालत पछि नहट्ने भएकोले कार्यकर्ता निराश नभइ जागरुक हुन आव्हान गरेका छन् ।

संविधानलाई पूर्णता दिन पार्टी एक ढिक्का भएर लाग्ने तर
सत्तामा पुग्ने र जनता झुक्याएर राज्यको ढुकुटी दोहन गर्ने दाउमा पार्टी नरहेको प्रष्ट परेका थिए ।
यसैगरी,उपस्थित कर्याकर्ताहरुले अन्य पार्टीहरुले पटकपटक जनतालाई धोका दिंदै आइरहेको अवस्थामा जसपाले भने आफ्नो नैतिकता र जनताको मर्म बुझेर अगाडि बढ्न नेतृत्व पङ्तीलाई सुझाव समेत दिएका छन् ।

पार्टीको निर्णय अनुसार भाद्र १ गतेबाट मंसिर महिनासम्म सुज अभियान लागू हुने जानकारी गराए अनुसार पाँचथरमा पनि आठ स्थानीय तहका तल्लो निकाय सम्म अभियान संचालन गर्ने जिल्ला अध्यक्ष लक्ष्मण लावतीले जानकारी दिए ।

 

कार्यक्रममा जसपा पाँचथरका वडा अध्यक्ष तथा पालिका पदाधिकारीदेखि जिल्लाका अगुवा नेताहरूको करिब तीन सय जनाको उपस्थितिमा अभियान भब्यताका साथ सम्पन्न भएको अध्यक्ष लावतीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार