दुवै सदनका बैठक बस्दै, बजेटसम्बन्धी विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको छुट्टाछुट्टै बैठक दिउँसो दुई बजे बोलाइएको छ ।

प्रतिनिधि सभा बैठकबाट आज बजेटसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने तयारी छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने उल्लेख छ ।

यसअघि ४ असोजमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बीच विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको थियो ।

आज राष्ट्रिय सभामा पनि विनियोजन विधेयकमाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची तय भएको छ ।

प्रतिनिधिसभाबाट पारित विधेयकहरु राष्ट्रिय सभामा पठाइन्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ । त्यसपछि ३० भदौदेखिको ‘बजेट होलिडे’ अन्त्य हुनेछ ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश तीन साउनमा संसदमा पेस भएको थियो । देउवा नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २५ भदौमा संसदमा टेबुल गरेका थिए । २९ भदौमा एमाले सांसदको नाराबाजीकै बीच प्रतिस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पास भएको थियो । त्यसलगत्तै संसदको अर्को बैठक असोज चार गतेसम्मका लागि स्थगित गरिएको थियो । सरकारले बजेट (विनियोजन विधेयक-२०७८) लाई नियमित प्रक्रियाबाटै पास गर्ने बाटो रोजेकाले राज्यकोषबाट खर्च गर्न रोक (बजेट होलिडे)को अवस्था आएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार