अन्तरराष्ट्रिय निबन्ध लेखनमा काठमाडौंका कोइराला प्रथम

  राम योङहाङ
1.2k Shares

इलाम : अनेरास्ववियु इलामले आयोजना गरेको अन्तरराष्ट्रिय निबन्ध लेखन प्रतियोगताको उपाधि नयाँबानेश्वर काठमाडौंका संकल्प कोइराला जितेका छन् । गत चैतमा आयोजित प्रतियोगिताका विजेता कोइरालाले नगद ३५ हजार ८ सय प्राप्त गरेका छन् ।

अनेरास्ववियुले आइतबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरी प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो । प्रतियोगितको द्वितीय स्थान राजपानी खोटाङका केशव भण्डारी र तृतीय स्थान देउमाई नगरपालिका इलामकी मनिसा अधिकारीले हासिल गरेका छन् । भण्डारीले नगद २३ हजार ८ सय र अधिकारीले ११ हजार ९ सय पाएका छन् ।

विजेता तथा उपविजेताहरुलाई एक साताभित्र सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिदिने अनेरास्ववियु इलामका संयोजक मिलन खत्रीले बताए ।

शहिद रत्नकुमार वान्तवको जन्मजयन्ति एवम् स्मृति दिवसको अवसरमा गत २७ चैतमा अनेरास्विवियुले ‘वैदेशिक शिक्षामा नेपाली युवाहरुको पलायन : समस्या र समाधान’ विषयक निबन्ध लेखन प्रतियोगिता घोषणा गरेको थियो ।

१ महिनाको अवधि तोकेर घोषित प्रतियोगितामा नेपाली र अंग्रेजी दुवै भाषामा इमेलमार्फत निबन्ध माग गरेको थियो । तर कोरोना भाइरसका कारण १ महिना थप गरेको थियो । २ महिनाको अवधिमा आएका निबन्धहरुको मुल्याङ्कन गरेर नतिजा प्रकाशन गरिएको अनेरास्ववियुले जनाएको छ ।

प्रतियोगितामा नेपाल र भारतका गरि ४९ जना प्रतियोगीहरु सहभागी थिए । जसमध्ये ४२ जना नेपाल, १ जना भारत र ४ जना विदेशमा बस्ने नेपाली सहभागी थिए ।

प्रतियोगिताको निर्णायकमा प्राध्यापकहरुलाई राखिएको थियो । प्रतियोताको निर्णायकमा डा. देवी क्षेत्री दुलाल, दीफक लुङ्गेली  र मौसमी गुरागाई थिए ।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य प्रवेश पराजुलीले अध्ययनको शिलशिलामा क्षमता भएका युवाहरु विदेशिने र उतै रहने परिपाटी बढेकाले मुलुकमा दक्ष जनशक्तिमा दीर्घकालीन असर पर्ने चुनौती रहेको उल्लेख गरे । नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष विप्लव भट्टराईले युवाहरु विदेशमा गएर अध्ययन गर्नु राम्रो भएपनि उतै पलायन हुने परिपाटीले समाजमा नकरात्मक सन्देश प्रवाह भइरहेको बताए ।

विद्यार्थीहरुलाई लेखन कार्यमा प्रोत्साहन गर्ने उद्देश्यले निबन्ध प्रतियोगिता आयोजना गरिएको अनेरास्ववियु इलमले जनाएको छ । कार्यक्रम अनेरास्ववियु इलामका संयोजक खत्रीको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार