इलाम : असोज ३ गते संविधान जारी भएको दिन, सरकारले विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाउँदैछ । संविधान दिवसको अवसरमा विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
तीनै तहको सरकारले संविधान दिवस मनाउँदैछ । सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विगतदेखि नै हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै आएको छ ।
तर गठबन्धनभित्रकै एक दल जनता समाजवादी पार्टी (जसपा) नेपालले यसवर्षको संविधान दिवसको कार्यक्रममा पनि सहभागी नहुने भएको छ । अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने जनाएको छ ।
संविधान जारी भएदेखि नै विभेदकारी भन्दै संविधान नै पुनर्लेखन गर्नुपर्छ भन्दै आएको जसपाले संविधानका विभेदकारी एवं त्रुटिपूर्ण प्रावधानको विरोध गर्न समेत आह्वान गरेको छ ।
‘संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरणलगायतका प्रावधान पनि अधुरो र अपूर्ण हुनुका साथै संविधानमा धेरै धाराहरुमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने, विरोध गर्ने’ विज्ञप्तिमा भनिएको छ, ‘संविधानमा रहेका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानहरु परिवर्तनका लागि उक्त दिन असोज ३ गते संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा संविधान संशोधनको आवश्यकता विषयक अन्तर्क्रिया आयोजना गरी उक्त संविधानमा रहेका विभेदकारी प्रावधानको विरोध गर्न आम जनसमुदाय एवं पार्टीको संगठनहरुलाई आह्वान गरिन्छ ।’
नेपालको संविधान २०७२ ले मधेसी, आदिवासी जनजाति, दलित, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायका साथै उत्पीडित जातजाति एवं समुदायले उठाउँदै आएको राष्ट्रिय मुद्दालाई सम्बोधन नगरेको जसपाको भनाई छ ।
२०७२ असोज ३ गते जारी भएको संविधान विभेदकारी भएको भन्दै संविधान जलाएर आन्दोलनमा होमिएको जनता समाजवादी पार्टीले विगतदेखि नै संविधान दिवस वहिष्कार गर्दै आएको छ ।
नयाँ संविधान जारी भएसँगै संविधानको विरुद्धमा जनता समाजवादी पार्टीसहित पहिचान पक्षधर पार्टीहरुले देशका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन र संविधान जलाएको थियो । संविधानको विरोधमा भएको मधेस आन्दालनमा मात्र ६० बढीको ज्यान गएको थियो । सोही बेला ६ महिनासम्म नाकाबन्दी समेत भएको थियो ।
यता जनता समाजवादी पार्टीबाट भर्खरै विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने उक्त दिन ‘कालो दिवस’ मनाउने भएको छ।
पार्टी अध्यक्ष महन्थ ठाकुरले बुधवार जारी गरेको आन्तरिक सर्कुलरमा जिल्लाका संयोजकहरूलाई संविधान दिवसको दिन विरोधसभा, कोणसभा, जुलुस, ब्ल्याक आउटलगायत विरोधका कार्यक्रम गर्न आग्रह निर्देशन दिएका छन् । मधेशको माग सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै मधेशवादी दलहरूले कालो दिनको रुपमा मनाउँदै आएका छन् ।
यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल आदिवासी जनजाति महासंघ, विभिन्न जातीय संस्थाहरुले भने असोज ३ लाई ‘कालो दिन’ का रुपमा मनाउने भएका छन् । विभिन्न विरोधका कार्यक्रम गरी संविधान दिवसको विरोध गरि ‘कालो दिवस’ मनाउने भएका हुन् ।
नेपालमा हरेक वर्ष असोज ३ गते संविधान दिवश मनाउने गरिन्छ ।