इलाम : सामाजिक संजाल फेसबुकमा विद्यालयको सम्पतिको दुरुपयोग भएको भन्दै फोटो पोष्ट गरेका संचारकर्मी बिनु खड्का विरुद्ध उजुरी परेको छ ।
माईजोगमाई गाउँपालिका-१ प्रेमेजुङमा रहेको शिवमाई माविको भौतिक संरचना र परिसर जीर्ण अवस्था देखेपछि सामाजिक संजालमा पोष्ट गरेका खड्कालाई विद्यालय व्यवस्थापन समितिले विद्यालयको नराम्रो कुरा सामाजिक संजालमा पोष्ट गरेको भन्दै न्यायिक समिति माइजोगमाईमा उजुरी दिएको हो ।
खड्काले विद्यालय बन्द रहेको अवस्थामा झ्याल ढोका खुल्लै रहेको, बर्खाको पानी कक्षा कोठा भित्र पसेको र भौतिक सामाग्रीको कुनै संरक्षक नभएको अवस्थाको फोटोहरु आफ्नो व्यक्तिगत फेसबुकमा पोष्ट गरेका थिए । सो फोटो सार्वजनिक भएपछि विद्यालयले उनीविरुद्ध न्यायिक समितिमा उजुरी दिएको हो ।
सरोकारवालाको ध्यानाकर्षणका लागि सार्वजनिक महत्वको विषयको फोटो सामाजिक संजालमा पोष्ट गर्दा आफूविरुद्ध उजुरी परेको जानकारी प्राप्त भएको खड्काले बताए । ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबै नागरिकको दायित्व हो । सार्वजनिक सम्पत्ति लथालिङ्ग भयो व्यवस्थित गरियोस् भनेर ध्यानाकर्षण गराउन सामाजिक संजालमा पोष्ट गरेको थिए’ खड्काले भने ‘विद्यालयले म विरुद्ध मुद्धा हालेको भन्ने न्यायिक समितिबाट जानकारी आएको छ ।’
यता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शालिकराम पौडेलले कोरोना भाइरस संक्रमणको बेला सबै तिर बन्दाबन्दी भएकाले विद्यालयमा जाने अवस्था नभएको बताए ।
विषम अवस्थामा विद्यालयमा सरसफाइ गर्न नसकेको उनले स्विकार गरे । खड्का विद्यालयको सरोकारवाला समेत भएकाले राम्रो कुरा नउठाई नराम्रो मात्र सामाजिक सञ्जालमा सम्प्रेषण गरेकाले छलफल गरिपाउँ भनेर न्यायिक समितिमा निवेदन दर्ता गराएको पौडेलले बताए ।
खड्काले शिवमाई माविको यस्तो अवस्थाको फोटोहरु केही समयअघि आफ्नो व्यक्तिगत फेसबुकमा पोष्ट गरेका थिए ।