राष्ट्रिय जनगणना सुरु, इलाममा ९९ सुपरिवेक्षक परिचालन

इलाम : १२ औं ‘राष्ट्रिय जनगणना २०७८’ आज (बुधबार) देखि इलामसहित देशभर सुरु भएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ ९ मंसिरभित्र सम्पन्न हुने गरी सरकारले जनगणना सुरु गरेको हो ।

दुई चरणमा हुने जनगणनाको पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण कार्य सुरु भएको हो । आगामी २५ कार्तिकदेखि ९ मंसिरसम्म हुने जनगणनाका लागि घर तथा घरपरिवार सूचीकरण सुरु गरेको हो । १८ असोजसम्म संचालन हुने यस चरणमा सुपरिवेक्षकहरुले घर तथा घरपरिवारको सूचीकरण कार्य गर्नेछन् । यस अवधिमा सुपरिवेक्षकले घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरूष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या भर्नेछन् ।

जनगणनाका लागि इलाममा ९९ जना सुपरिवेक्षक परिचालन गरिएको छ ।  सरकारले गरेको निर्णय बमोजिम सुपरिवेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।

‘पहिलो चरणको कार्यतालिका बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर फिल्डमा खटाएका छौं,’ उनले भने, ‘उहाँहरुले स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरेर काम गर्नुहुनेछ ।’

सुपरिवेक्षले घर तथा घपरिवारको सूचिकरणका लागि २५ वटा प्रश्नावलीको आधारमा सूचना संकलन गर्नेछन् । जिल्लामा गणक भने छनोट भइसकेका छैनन् । कम्तीमा असोज १० सम्मा गणकको नतिज प्रकाशन हुने जिल्ला जनगणना अधिकारी कार्कीको भनाई छ ।

पहिलो चरणको कार्य सकिएपछि दोस्रो चरणमा गणकहरूमार्फत् प्रत्येक घर परिवारमा पुगी प्रश्नावलीमार्फत् पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइसराइलगायत विवरणहरू संकलन गरिनेछ ।

दोस्रो चरणको गणनाअन्तर्गत गणकले विभिन्न ८० वटा प्रश्नावलीका आधारमा विवरणहरु संकलन गर्नेछन् । सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत् वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता, पूर्वाधार र विपदसम्बन्धी विवरण पनि संकलन गरिने छ ।

सोही क्रममा घरपालुवा पशुपंक्षीको विवरण पनि संकलन हुनेछ । जनगणनाबाट वडास्तरसम्मको लैंगिक तथा समावेशी तथ्यांक प्राप्त हुने भएकाले विकास निर्माणका काम तथा लक्षित वर्गका कार्यक्रमहरू तर्जुमा गर्न तथा नीति र योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, बाटोघाटो, पुल, विद्यालय, उद्योगधन्दा, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिँचाइ, खाद्यान्न आपूर्ति, बसोबासको व्यवस्था, विकास बजेटको बाँडफाँट, सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा र मानव विकास प्रक्रियामा पछाडि परेका समुदायको उत्थानका कार्यक्रमहरू सञ्चालन गर्न तथा संविधानको मौलिक हकलगायत अन्य हकहरूको कार्यान्वयन र मूल्यांकन गर्न आवश्यक तथ्यांक प्राप्त हुने हुँदा जनगणनाको महत्व रहेको छ ।

देशभर अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको निश्चित समय अवधिभित्र गणना गरी व्यक्तिगत तथा पारिवारिक विवरणसँग सम्बन्धित तथ्याङ्क संकलन गर्न जनगणना गर्ने गरिन्छ । नेपाललमा वि.स. १९६८ देखि जनगणना सुरु गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार